Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गैरकानुनी कामदारमाथि धडपकड तीव्र पार्दै साउदी सरकार, १९ हजारभन्दा बढी पक्राउ

गैरकानुनी कामदारमाथि धडपकड तीव्र पार्दै साउदी सरकार, १९ हजारभन्दा बढी पक्राउ

बुधवार, बैशाख १९ २०८१
  • काठमाडौं । साउदी अरेबियाले एक साताभित्रै आवाससम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा १९ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । ११ हजार ९ सय ८७ व्यक्तिले रेसिडेन्सी नियम उल्लंघन गरेको पाइएको छ भने ४ हजार ३ सय ६७ व्यक्ति सीमा सुरक्षा उल्लंघनमा मुछिएका छन् । श्रम कानुन उल्लंघनमा करिब २ हजार ६ सय ९६ जना पक्राउ परेका छन् ।

    रेसिडेन्सी नियमको उल्लंघन, सीमा सुरक्षा उल्लंघन र श्रम कानुन अपराधलगायत विभिन्न उल्लंघनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अभियानलाई तीव्र पारिएको साउदीको गृह मन्त्रालयले जनाएको छ । राज्यमा १ हजार ११ व्यक्तिको अवैध प्रवेशलाई सुरक्षाकर्मीले रोकेको मन्त्रालयले जनाएको छ । कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १८ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जनाएको छ ।

    images

    ४ हजार ४ सय ४५ महिलासहित ५६ हजार ५ सय ९७ जनालाई कानुनी कारबाही भइरहेको छ । गृह मन्त्रालयले क्र्याकडाउनको प्रतिक्रियामा धेरै कारबाही गरेको बताएको छ । उनीहरूले ४७ हजार ५ सय ८२ व्यक्तिलाई आ–आफ्नो कूटनीतिक नियोगमा यात्रा कागजातका लागि पठाई ३ हजार ५ सय ९९ व्यक्तिलाई यात्राको व्यवस्था गरेको र १२ हजार २ सय ५० व्यक्तिलाई देश निकाला गरिएको जनाएको छ ।

    मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ । यी दण्डमा १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ ।

    मुलुकका सुरक्षा बलहरूद्वारा गरिएको क्र्याकडाउनले राज्यका सबै क्षेत्रहरूमा कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । उनीहरूले जनतालाई राज्यभरि तोकिएका आपत्कालीन सम्पर्कहरूमार्फत कुनै पनि संदिग्ध उल्लंघनको रिपोर्ट गर्न आग्रह गरेको छ ।

    पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

    साउदी जेलमा ६ सय १५ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन् ।

    साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार