Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुर्गेश थापाको विज्ञप्तिमा गायक आनन्द कार्कीको काउन्टर उत्तर

दुर्गेश थापाको विज्ञप्तिमा गायक आनन्द कार्कीको काउन्टर उत्तर

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं– वरिष्ठ गायक तथा संगीतकर्मी आनन्द कार्कीले आफ्नो पारिश्रमिक भुक्तानीलाई लिएर गायक तथा मोडल दुर्गेश थापाको प्रेस विज्ञप्तिको काउन्टर जवाफ फर्काएका छन्।

    दुर्गेशले सार्वजनिक गरेको विज्ञप्तिमा केही महत्त्वपूर्ण घटनाक्रम छुटेको भन्दै गायक कार्कीले आफ्नो पक्ष स्पष्ट पार्दै विज्ञप्ति जारी गरेका हुन्।

    images

    चार दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय कार्कीले पारिश्रमिकका लागि आफूले एक वर्षसम्म कुर्नुपरेको यथार्थ बाहिर ल्याएका छन्।

    गायक कार्कीले आफूले गीत रेकर्ड गराएको र ‘रङ्गी’ चलचित्रका लागि स्वर दिएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको खुलाएका छन्। सुरुमा ‘भाइजस्तो आत्मीयता र विश्वास’का कारण धैर्य गरे पनि पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत ताकेता गर्दा समेत समयमा समस्या समाधान नभएको उनको गुनासो छ।

    अन्ततः एक वर्षको प्रतीक्षापछि पारिश्रमिक प्राप्त भए पनि यसरी श्रमको मूल्य पाउन लामो समय कुर्नु पर्ने अवस्था सामान्य व्यावसायिक अभ्यास हुन नसक्ने कार्कीको भनाइ छ। 

    आफ्नो असन्तुष्टि केवल रकममा मात्र नभई भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीप्रतिको अपेक्षासँग जोडिएको उनले प्रस्ट पारेका छन्।

    ‘रङ्गी’ चलचित्रको पारिश्रमिकको विषयमा निर्माता शोभित बस्नेतसँग कुराकानी भएको उल्लेख गर्दै कार्कीले भनेका छन्, ‘शोभितजीले आज फोन गरेर चलचित्रका लागि डेढ लाख रुपैयाँको प्याकेजमा जिम्मेवारी दिएको र मेरो पारिश्रमिक भुक्तानी नभएको विषय पछि मात्र थाहा पाएको बताउनुभयो।’ 

    बस्नेतले भुक्तानीका लागि पहल गर्दै क्युआर कोड पठाउन आग्रह गरेपछि आफूले क्युआर पठाइसकेको कार्कीले जानकारी दिएका छन्।

    निर्माता बस्नेतको यो पहल सकारात्मक भए पनि यस घटनाले ‘काम सम्पन्न भएपछि कलाकारको पारिश्रमिक भुक्तानीको जिम्मेवारी कसले लिने?’ भन्ने गम्भीर प्रश्न उब्जाएको कार्कीको तर्क छ।

    नयाँ पुस्तालाई सधैँ माया, साथ र सहयोग गर्दै आएका कार्कीले आफ्नो आवाज कुनै व्यक्ति विशेषविरुद्ध नभई समग्र कलाकारको श्रम र अधिकारको पक्षमा रहेको बताएका छन्।

    दुर्गेश थापाप्रति आफ्नो माया, शुभकामना र आशीर्वाद अझै पनि यथावत् रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तिमी अझ सफल बन, तर सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि उत्तिकै बलियो बनोस्।’

    विज्ञप्तिमा अन्त्यमा उनले भनेका छन्, ‘कलाकारको पारिश्रमिक दया वा उपकार होइन, उसको श्रमको न्यायोचित मूल्य हो। आत्मीयता जिम्मेवारीबाट उन्मुक्ति होइन; बरु विश्वासलाई अझ मजबुत बनाउने आधार हो।’ 

    यो वक्तव्य व्यक्तिगत रिसइबीका लागि नभई नेपाली संगीत तथा चलचित्र क्षेत्रमा पारदर्शिता र समयमै पारिश्रमिक भुक्तानीको संस्कार बसाउनका लागि सार्वजनिक गरिएको कार्कीले स्पष्ट पारेका छन्।
     


     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार