काठमाडौं । उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ) अन्तर्गत ईपीएस टपिक परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका श्रमिकहरुले आफ्नो रोजगारी सुनिश्चितताको माग गरेका छन् । हिजो ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखालाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले रोस्टरमा रहेका पुराना पासरहरुको अवस्था, नयाँ पासरको फाइल स्वीकृति तथा छनोट प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्न माग गरेका हुन् ।
श्रमिकहरुले रोजगारी प्रक्रियालाई पारदर्शी, निष्पक्ष र छिटोछरितो बनाउनुपर्नेमा जोड दिएका छन् । जसअनुसार अब आउने ईपीएस रोजगारीका लागि रोजगारदाताले कामदार छनोट गर्दा मिति (इन्ट्री डेट) का आधारमा पासरहरुलाई प्राथमिकता दिने लिखित प्रतिबद्धता गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी, उत्पादनमूलक क्षेत्रतर्फ ईपीएस टपिक परीक्षा उत्तीर्ण गरी लामो समयदेखि रोस्टरमा रहेका पुराना पासर तथा महिला पासरको प्रक्रिया किन सुस्त गतिमा अघि बढिरहेको छ भन्ने विषयमा यथाशीघ्र स्पष्ट जानकारी उपलब्ध गराउन पनि माग गरिएको छ ।
धेरै पुराना पासर रोस्टरमा हुँदाहुँदै नयाँ पासरको फाइल एक महिनामै स्वीकृत हुने आधार र मापदण्ड स्पष्ट पार्नुपर्ने तथा यस विषयमा उच्च निकायबाट निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि अघि सारिएको छ । रोस्टरको म्याद सकिन लागेका पुराना पासरको अवस्थालाई गम्भीरतापूर्वक लिँदै उनीहरूको रोजगारीको अवसर सुरक्षित गर्न र नयाँ पासरको फाइल तत्काल होल्ड गर्नसमेत माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा रोस्टरमा प्रवेश गरेको मितिका आधारमा कामदार छनोट गर्ने प्रक्रिया पारदर्शी बनाउनुपर्ने र सबै परीक्षार्थी तथा श्रमिकलाई समान व्यवहार गर्नुपर्ने उल्लेख छ । रोजगारीको सुनिश्चितता र रोस्टरको अवधिजस्ता गम्भीर विषयमा सरकारले विगतमा गरेका तथा हाल गरिरहेका पहलको यथार्थ जानकारी सार्वजनिक गर्नुपर्ने उनीहरुको भनाइ छ । साथै, न्यायोचित प्रक्रिया, नीति, विधि र आवश्यक मापदण्ड निर्माण गर्न पनि माग गरिएको छ ।
रोस्टरमा रहेका सबै श्रमिकको रोजगारी सुनिश्चित नभएसम्म सन् २०२६–०२७ का लागि भनिएको उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा तत्कालका लागि स्थगित गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् । त्यस्तै, आन्दोलनरत युवा नागरिकका प्रतिनिधिहरुसँग औपचारिक वार्ता गरी माग सम्बोधन गर्न र बाँकी विषयमा लिखित प्रतिबद्धतासहित स्पष्ट जवाफ उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।



