Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

मागको आधा पनि परेन इजरायल जान महिलाको आवेदन

मागको आधा पनि परेन इजरायल जान महिलाको आवेदन

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । इजरायलले यो वर्ष केयर गिभरका लागि १ हजार १३२ जना नेपाली महिला कामदार माग गरेकामा अहिलेसम्म ६९० जना महिलाको मात्र आवेदन परेको छ । मागको तुलनामा आवेदन दिने महिलाको संख्या ६१ प्रतिशत मात्र पुगेको छ ।

    यो तथ्यांकले स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारमा आकर्षित देखिएका नेपाली महिला इजरायल जान भने अनिच्छुक देखिएको छ । वैदेशिक विभागका अनुसार यस वर्ष इजरायलले महिला र पुरुष गरी एक हजार ४ सय ६४ जना कामदार माग गरेको थियो । यसमा पुरुषका लागि ३ सय ३२ जना र महिलाका लागि एक हजार १३२ जना माग आएको हो । असोजसम्ममा इजरायल जान विभागमा आवेदन दिने नेपालीको कुल संख्या (महिला र पुरुष) एक हजार ८३५ जना पुगेको छ । आवेदन दिने समय पनि सकिएको छ ।

    images

    विभागका अनुसार माग संख्या धेरै भएको महिलातर्फ आवेदन दिनेको संख्या निकै कम देखिएको छ । अहिले माग अनुसार आवेदन पुगेको छैन । आवेदनपछि भाषा परीक्षा पास हुने मात्र इजरायल जान पाउँछन् । भाषा परीक्षामा पनि धेरै असफल हुने भएकाले अहिलेसम्मको तथ्यांकअनुसार यो वर्ष मागअनुसार इजरायल जाने महिलाको संख्या पुग्ने देखिएको छैन ।

    अर्कोतर्फ इजरायलले गरेको माग संख्या कम भए पनि आवेदन दिने पुरुषको संख्या उच्च छ । विभागका अनुसार असोजसम्ममा इजरायल जान १ हजार १४५ जना पुरुषले आवेदन दिएका छन् । विभागका अनुसार महिलातर्फ आएको माग पूरा गर्न अझै ४४२ आवेदकको आवश्यकता परेको छ भने पुरुषतर्फ मागभन्दा ८ सय १३ जना बढीले आवेदन दिएका छन् । यसअनुसार पुरुषतर्फ मागभन्दा तीन गुणाभन्दा बढी आवेदन परेको छ ।

    महिला र पुरुषको आवेदन तथा मागबीचको अन्तरले इजरायल रोजगारी प्रक्रियामा लैंगिक असन्तुलन देखिएको छ । अर्कोतिर इजरायल जान आवश्यक ‘अफ स्किल’ अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या आवेदन दिने संख्याभन्दा कम छ । हालसम्म उक्त परीक्षा पास गर्नेको संख्या १ हजार ६८७ पुगेको छ । विभागमा आवेदन दिने भने १ हजार ८३५ जना पुगेका छन् । यसअनुसार कुल माग संख्याभन्दा भाषा परीक्षा पास गर्नेको संख्या १४८ जनाले कम देखिएको छ । यसले पनि मागअनुसार इजरायल जाने नेपाली कामदार अपुग हुने देखिएको छ ।

    विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नु र रोजगारीका लागि आवेदन प्रक्रिया पूरा गर्नु फरक चरण भएकाले भाषा परीक्षा पास गरेका सबै उम्मेदवारले आवेदन नदिएको अवस्था हुन सक्छ । हाल विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका युवाको विवरण परीक्षण तथा प्रमाणित गर्ने काम गरिरहेको छ । आवेदनको प्रमाणीकरणपछि योग्य उम्मेदवारको विवरण र छनोट प्रक्रियासम्बन्धी नाम सार्वजानिक गरिने छ ।

    इजरायलले महिलातर्फ बढी कामदार माग गरे पनि आवेदनको संख्या अपेक्षाअनुसार नपुग्नुले मागअनुसार उम्मेदवार उपलब्ध गराउने प्रक्रियामा चुनौती देखिएको छ । पुरुषतर्फ मागभन्दा धेरै आवेदन परेको अवस्थामा महिलातर्फको आवेदन संख्या बढाउनुपर्ने अवस्था छ । इजरायल रोजगारी पनि नेपालीका लागि आकर्षक गन्तव्य मध्ये एक हो । इजरायल जानेले मनग्य आम्दानी गर्दै आएका छन् । महिलाका लागि इजरायलको केयर गिभर सुरक्षित र आकर्षित रोजगारी मानिदै आएको छ । तर, पछिल्लो समयमा इजरायलसँग इरानसमेत युद्ध चलिरहेका कारण सुरक्षालाई हेरेर नेपाली महिलाहरु त्यसतर्फ जान नखोजेको अनुमान गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार