काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क घटाइएको छ । यसअघि ३५२ दिराम लाग्दै आएको शुल्क भिएफएस, मोफा चार्ज र भ्याटसहित अब २०८ दिराम कायम गरिएको हो । नयाँ शुल्क आजदेखि लागू भएको छ ।
शुल्क घटेसँगै श्रमिकले प्रतिव्यक्ति १४४ दिराम अर्थात् करिब ४१ प्रतिशत रकम बचत गर्नेछन् ।
वैदेशिक रोजगार व्यवसायी संघका सचिव केदारनाथ अधिकारीका अनुसार संघको पहलमा शुल्क घटाइएको हो । संघले शुल्क पूर्ण रूपमा हटाउन पहल गरे पनि यूएईले ४४ देशमा प्रहरी रिपोर्ट प्रमाणीकरण प्रणाली लागू गरिसकेकाले तत्काल सम्भव नभएको उनले बताए । नेपालस्थित यूएई दूतावासले नयाँ शुल्क आजदेखि लागू गरेको जनाएको छ ।



