काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयकी पूर्वपत्नी राजकुमारी डायनाको निधन भएको झन्डै तीन दशकपछि उनीहरूको सम्बन्ध र त्यसपछिका घटनालाई लिएर नयाँ विवाद चर्किएको छ।
डायनाका भाइ अर्ल स्पेन्सरले आफ्नो प्रकाशोन्मुख संस्मरणमा तत्कालीन युवराज चार्ल्स डायनाको मृत्युपछि आफूलाई फोन गर्दा अस्वाभाविक रूपमा खुसी सुनिएको दाबी गरेका छन् । यससँगै डायना–चार्ल्स सम्बन्ध फेरि चर्चामा आएको छ।
अर्ल स्पेन्सरले आगामी पुस्तक ‘स्वान सङः डायना, माई सिस्टर’ मा लेखेअनुसार ३१ अगस्ट १९९७ मा पेरिसमा कार दुर्घटनामा डायनाको निधन भएपछि तत्कालीन युवराज चार्ल्सले उनलाई फोन गरेका थिए । अरू फोन गर्नेहरू दुःख र स्तब्धताका कारण बोल्न नसक्ने अवस्थामा थिए । यद्यपि चार्ल्सको आवाज भने आफूलाई ‘चिठ्ठा जितेको व्यक्तिजस्तो अत्यन्त उत्साहित’ सुनिएको स्पेन्सरको दाबी छ।
स्पेन्सरका अनुसार चार्ल्सले उक्त फोनवार्तामा आफ्ना छोराहरू विलियम र ह्यारीलाई आमाको मृत्युबारे बिहानै जानकारी गराएको बताएका थिए । डायनाको मृत्युसँगै चार्ल्स र उनको सम्बन्धको लामो विवादास्पद अध्याय पनि समाप्त भएको थियो । उनीहरूको सम्बन्धविच्छेद सन् १९९६ मै भइसकेको थियो । त्यसपछि चार्ल्सले क्यामिला पार्कर बोल्ससँग विवाह गरे।
‘अब हामी उनलाई चाँडै बिर्सनेछौँ’
पुस्तकबाट सार्वजनिक भएको अर्को अंशले पनि विवाद बढाएको छ । डायनाको अन्त्येष्टिमा उनका दुई छोरा विलियम र ह्यारीलाई शवयात्रामा हिँडाउने विषयमा विवाद भएको थियो । सोही क्रममा चार्ल्सले ‘अब हामी उनलाई चाँडै बिर्सनेछौँ’ भन्ने आशयको कुरा गरेको स्पेन्सरको दाबी छ । स्पेन्सर त्यतिबेला आफ्ना भान्जाहरूलाई शवयात्रामा हिँडाउन नहुने पक्षमा थिए।
बकिङ्घम दरबारले यी दाबीलाई स्वीकार गरेको छैन । दरबारले सार्वजनिक प्रतिक्रिया दिँदै शोकका कारण मानिसको स्मरण, निर्णय क्षमता र घटनाको व्याख्या प्रभावित हुन सक्ने जनाएको छ । दरबारको प्रतिक्रियामा स्पेन्सरको व्यक्तिगत दुःखले दशकौँ पुरानो घटनाको सम्झनालाई प्रभावित गरेको हुन सक्ने संकेत गरिएको छ।
पूर्वशाही अधिकारीको प्रतिवाद
डायनाको मृत्यु र अन्त्येष्टिका बेला तत्कालीन महारानी एलिजाबेथ द्वितीयका प्रेस सचिव रहेका डिकी आर्बिटरले पनि स्पेन्सरको दाबी अस्वीकार गरेका छन् । चार्ल्स त्यतिबेला अत्यन्त दुःखी रहेको र त्यस्तो प्रतिक्रिया दिनु उनको स्वभावसँग मेल नखाने आर्बिटरको भनाइ छ । स्पेन्सरको दाबी खण्डन गर्दै उनले चार्ल्सले त्यस्तो कुरा भनेको विषयमा आफूलाई रत्तिभर विश्वास नलाग्ने प्रस्ट पारेका छन्।
वैवाहिक जीवनबारे पनि नयाँ दाबी
स्पेन्सरको पुस्तकमा डायना र चार्ल्सको वैवाहिक जीवनबारे पनि व्यक्तिगत विवरणहरू समेटिएका छन् । सन् १९८१ मा विवाह हुनुअघि चार्ल्सले डायनाको एक साथीलाई आफू विवाह गर्न खुसी भए पनि डायनासँग प्रेममा नरहेको बताएको दाबी स्पेन्सरले गरेका छन्।
पुस्तकमा आफ्नी बहिनीको वैवाहिक जीवन प्रारम्भिक वर्षमै कठिन बनेको र दुवै पक्षले एकअर्काप्रति निराशा अनुभव गरेको उनले उल्लेख गरेका छन् । डायनाले जीवनको पछिल्लो चरणमा मानसिक तथा भावनात्मक कठिनाइ भोगेको र आफ्ना छोराहरूप्रतिको अगाध प्रेमका कारण मात्र आफूलाई थप क्षति पुर्याउने कदमबाट रोकेको पुस्तकमा जनाइएको छ।
२९ वर्षपछि फेरि डायना–चार्ल्स विवाद
पेरिसमा कार दुर्घटना हुँदा डायना मात्र ३६ वर्षकी थिइन् । उनको निधनले बेलायतमा ठूलो सार्वजनिक शोक निम्त्याएको थियो । चार्ल्स र डायनाको सम्बन्ध त्यसअघि नै गम्भीर संकटमा पुगेर सन् १९९६ मा सम्बन्धविच्छेद भइसकेको थियो।
डायनाबारे अरूले बनाएका कथाभन्दा आफ्नै परिवारको दृष्टिकोण प्रस्तुत गर्न नयाँ पुस्तक लेखेको स्पेन्सरको भनाइ छ। प्रकाशकका अनुसार यसमा डायनाको जीवन र मृत्युको अन्तिम साताबारे नयाँ विवरणहरू छन् । यो पुस्तक २२ सेप्टेम्बर २०२६ मा प्रकाशित हुँदैछ।
यस विवादबीच राजपरिवारका सार्वजनिक गतिविधि भने निरन्तर जारी छन् । बिहीबार लन्डनमा आयोजित एक अवार्ड समारोहमा राजकुमार ह्यारीले सहभागिता जनाएका छन् । राजा चार्ल्सले स्कटल्यान्डमा एआईसम्बन्धी सम्मेलन आयोजना गरेका छन् । त्यस्तै, राजकुमार विलियम र उनकी पत्नी क्याथरिनले स्कटल्यान्डको आइल अफ बुटमा आयोजित समुद्री किनार सरसफाइ कार्यक्रममा सहभागिता जनाएका छन्।



