Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इन्धनको मूल्यवृद्धिविरुद्ध विश्वव्यापी प्रदर्शन : सिरियादेखि फिलिपिन्ससम्म सडक तात्दै

इन्धनको मूल्यवृद्धिविरुद्ध विश्वव्यापी प्रदर्शन : सिरियादेखि फिलिपिन्ससम्म सडक तात्दै

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । अमेरिका र इरानबिच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। महँगो इन्धन र बढ्दो महँगीको विरोधमा विश्वका विभिन्न देशमा प्रदर्शन र हडताल हुन थालेका छन्।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गत साता पुनः प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेपछि यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ । खाडी क्षेत्रमा अमेरिकी आक्रमण, इरानी तेल ट्याङ्करमाथि भएका थप कारबाही तथा यमनमा पुनः चर्किएको द्वन्द्वले लाल सागर हुँदै हुने समुद्री व्यापारमा समेत जोखिम बढाएको छ।

    images

    ऊर्जा सङ्कटको असर विशेषगरी कम आय भएका देशमा बढी परेको छ । इन्धन महँगिएपछि मानिसलाई सवारीसाधन चलाउन, काममा जान र व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । कतिपय देशमा अत्यावश्यक सेवासमेत महँगो इन्धनको दबाबमा परेका छन्।

    सिरियामा सडक अवरुद्ध गरेर प्रदर्शन

    सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न स्थानमा प्रदर्शन भएका छन् । यी प्रदर्शनलाई राष्ट्रपति बसर अल–असदको शासन अन्त्य भएको दुई वर्षयताकै ठुलो प्रदर्शनका रूपमा लिइएको छ।

    syria 1

    सिरियाली सरकारले डिजेलको मूल्य प्रतिलिटर १७५ सिरियाली पाउन्ड (करिब १.४३ अमेरिकी डलर) पुर्‍याएको छ । यो अघिल्लो मूल्यभन्दा करिब ४० प्रतिशत बढी हो । पेट्रोलियम ग्यासको मूल्य पनि २५ प्रतिशतभन्दा बढी बढाइएको छ।

    विश्व बजारमा इन्धनको मूल्य बढ्नु र देशको सबैभन्दा ठुलो बानियास रिफाइनरीमा भइरहेको मर्मतसम्भारका कारण आयातमा निर्भरता बढ्नु नै मूल्यवृद्धिको मुख्य कारण रहेको सरकारले जनाएको छ।

    प्रदर्शनकारीहरूले हासाका–देर एज–जोर राजमार्ग अवरुद्ध गर्दै टायर जलाएका थिए भने केही स्थानमा तेल बोकेका ट्याङ्करसमेत रोकेका थिए । सिरियामा बढ्दो इन्धन मूल्य, इन्धनको उपलब्धता, घट्दो क्रयशक्ति र कमजोर सार्वजनिक सेवाले लामो समयदेखि जनअसन्तुष्टि बढाइरहेको विश्लेषण गरिएको छ । पछिल्लो प्रदर्शनमा भने ऊर्जामन्त्रीलगायत सरकारी अधिकारीको राजीनामासमेत माग गर्न थालिएको छ।

    ग्वाटेमालामा सडक र राजमार्ग बन्द

    मध्य अमेरिकी देश ग्वाटेमालामा पनि इन्धनको मूल्यवृद्धिविरुद्ध ट्रक चालक र अन्य समूहले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ग्वाटेमाला सिटीमा आदिवासी समूहले संसद् भवनतर्फ मार्च गर्दै इन्धनको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए।

    Guatemala

    विरोध बढेपछि ग्वाटेमालाको संसद्ले वर्षको अन्त्यसम्म इन्धनको मूल्यमा सीमा तोक्ने प्रस्तावमाथि काम गरिरहेको छ । प्रस्ताव पारित भई तोकिएको सीमाभन्दा अन्तर्राष्ट्रिय मूल्य माथि गएमा सरकारले इन्धन आयातकर्तालाई अनुदान दिने व्यवस्था हुन सक्नेछ।

    पोर्चुगलमा व्यवसायी र श्रमिक सडकमा

    युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ्दो मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । शनिबार तटीय सहर एस्पिन्होमा करिब ८० जना व्यवसायी र श्रमिकले प्रदर्शन गरेका थिए । उनीहरूले सरकारलाई इन्धनको मूल्य नियन्त्रण गर्न तथा बढ्दो जीवनयापन खर्चबाट नागरिकलाई राहत दिन दबाब दिएका छन्।

    प्रदर्शनकारी प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको एस्पिन्होस्थित निवाससम्म पुगेका थिए । पोर्चुगलमा वारुण नियन्त्रक संस्थाहरूले पनि महँगो इन्धनका कारण स्वयंसेवी दमकल सेवामाथि आर्थिक भार बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अवस्था जटिल बन्दै गएपछि सरकारले मालवाहक यातायात, ट्याक्सी चालक, अग्नि सेवा तथा सामाजिक क्षेत्रलाई सहयोग गर्ने नयाँ प्याकेज घोषणा गरेको छ।

    फ्रान्समा माछा व्यवसायीद्वारा इन्धन डिपोमा नाकाबन्दी

    फ्रान्सको दक्षिणी तटीय सहर फोस–सुर–मेरमा करिब ५० जना माछा व्यवसायीले मङ्गलबार प्रमुख इन्धन डिपो अवरुद्ध गरेका छन् । उनीहरूले बढ्दो इन्धन मूल्यसहित माछा व्यवसायमा बढिरहेको लागत र आम्दानीमाथिको दबाबको विरोध गरेका हुन् । प्रदर्शनका क्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।

    France

    सहरका मेयर फिलिप मौरिजोले भने, ‘माछा व्यवसाय गम्भीर सङ्कटमा छ, सरकारले तत्काल कदम चाल्नुपर्छ ।’ बढ्दो लागत, इन्धनको मूल्य, व्यवसायमाथिका विभिन्न प्रतिबन्ध र अपर्याप्त आम्दानीले व्यवसायीलाई कठिन अवस्थामा पुर्‍याएको उनको भनाइ छ।

    फिलिपिन्समा यातायात मजदुरको हडताल

    फिलिपिन्समा यातायात मजदुरको सङ्गठन मानीबेलाले सोमबार इन्धनको मूल्यवृद्धिविरुद्ध हडताल गरेको छ । उनीहरूले सरकारसँग इन्धनमा अनुदान दिन तथा पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउन माग गरेका छन्।

    त्यहाँ पेट्रोलियम कम्पनीहरूले फेरि इन्धनको मूल्य बढाएका छन् । मङ्गलबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर ५.६८ पेसोले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्यसमेत उकालो लागेको छ।

    फिलिपिन्सका ऊर्जामन्त्री शेरोन एस गारिनले भनिन्, ‘इन्धनको मूल्यमा हुने प्रत्येक वृद्धिले सवारीसाधनमा इन्धन भर्ने खर्च मात्र नभई परिवारको दैनिक बजेट, चालकको आम्दानी र व्यवसाय सञ्चालन खर्चसमेत प्रभावित हुन्छ ।’ हाल सरकारले पेट्रोलियम पदार्थमा लाग्ने अन्तःशुल्क घटाउने सम्भावनाका लागि प्रक्रिया अघि बढाएको छ।

    फिलिपिन्समा इन्धनको मूल्यवृद्धिको समस्या केही महिनादेखि कायम छ । मार्चमा मूल्यवृद्धि तीव्र भएपछि मनिलामा मानिसहरूले राष्ट्रपतिको कार्यालयतर्फ मार्च गर्दै विरोध गरेका थिए । विद्यार्थी सङ्गठनहरूलेसमेत इन्धन मूल्यसँगै समग्र जीवनयापन खर्च बढेको भन्दै विभिन्न चरणमा प्रदर्शन गर्दै आएका छन्।

    युद्धको प्रभाव विश्वव्यापी बन्दै

    अमेरिका–इरान युद्धको प्रत्यक्ष असर युद्ध क्षेत्रमा मात्र सीमित नरही विश्व ऊर्जा बजारमा फैलिएको पछिल्ला घटनाक्रमले देखाएका छन् । तेल आपूर्तिमा अवरोधको सम्भावना बढ्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य चर्किएको छ। त्यसको प्रभाव यातायात, कृषि, उद्योग, व्यापार र घरपरिवारको दैनिक खर्चसम्म पुगेको छ।

    विशेषगरी तेल आयातमा निर्भर मुलुकहरूका लागि महँगो इन्धनले व्यापार घाटा र सरकारी खर्चमा थप दबाब पार्न सक्छ । उपभोक्ताले महँगो पेट्रोल र डिजेल मात्र होइन, इन्धनको लागत बढेका कारण खाद्यान्न तथा अन्य वस्तु र सेवाको मूल्यसमेत बढेको महसुस गरिरहेका छन्।

    यसरी अमेरिका–इरान द्वन्द्व र त्यससँग जोडिएको ऊर्जा आपूर्ति सङ्कटले विश्वका विभिन्न देशमा आर्थिक दबाब बढाउँदै लगेको छ । सिरियादेखि ग्वाटेमाला, पोर्चुगल, फ्रान्स र फिलिपिन्ससम्म देखिएका प्रदर्शनले महँगो इन्धन अहिले केवल ऊर्जा बजारको विषय मात्र नभई आम नागरिकको दैनिक जीवन र सरकारमाथिको आर्थिक दबाबसँग प्रत्यक्ष जोडिएको प्रस्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार