काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठ सम्ममा ४ लाख भन्दा बढी नेपाली राजगारीको खोजीमा विदेशीएका छन् ।
चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनाको अवधिमा (साउनदेखि जेठ मसान्तसम्ममा) ४ लाख २२ हजार भन्दा बढीले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका हुन् ।
प्रतिवेदन अनुसार ११ महिनाको अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७।३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१।९ प्रतिशतले बढेको थियो ।
यस्तै, ११ महिनाको अवधीमा देशमा १३ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १९।३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२।७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।



