Oct 28 2026 | २०८३ कार्तिक १२ गते

शपथ लगत्तै कांग्रेसको अनौपचारिक केन्द्रीय समिति, औपचारिक बैठक पहिलो मनोनयनपछि

शपथ लगत्तै कांग्रेसको अनौपचारिक केन्द्रीय समिति, औपचारिक बैठक पहिलो मनोनयनपछि

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण बिहीबारका लागि तोकिएको छ ।

     निर्वाचन समितिका अनुसार बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिको उपस्थितिमा सभापति गगन थापाले पदाधिकारी र सदस्यहरूलाई शपथ दिलाउने केन्द्रीय कार्यालयले सूचनामार्फत जानकारी दिएको छ । 

    images

    गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५ औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । ६६ जना भने सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा गरिएको छ । 

    सभापति थापाले भने असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित विनीता खड्कालाई केन्द्रीय सदस्यमा निर्वाचित प्रमाणपत्र नदिने निर्वाचन समितिले निर्णय गरिसकेकाले भोलि २२९ जनाले शपथ लिनेछन् ।

    पदाधिकारी तथा सदस्यहरूको शपथ लगत्तै अनौपचारिक केन्द्रीय कार्यसमिति बैठक बसाल्ने तयारी सभापति गगन थापाले गरेका छन् । 

    नवनिर्वाचित सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले पदाधिकारी तथा सदस्यहरूले शपथ लिएलगत्तै केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । ‘शपथ लगत्तै अनौपचारिक बैठक बस्ने तय भएको छ,’ सहमहामन्त्री रसाइलीले रातोपाटीसँग भने । 

    औपचारिक बैठक पहिलो चरणको मनोनयनपछि मात्रै

    सभापति थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक आफूले मनोनयन गर्न पाउने सदस्यहरूको मनोनयन गरेपछि मात्रै बसाल्ने तयारी गरेका छन् । सभापति थापाले ६६ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । 

    त्यस्तै ४ सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनयन गर्न पाउने व्यवस्था कांग्रेसले १५ औँ महाधिवेशनमा विधान संशोधन गरेर गरेको छ । विधानमा सहमहामन्त्री र कोषाध्यक्ष मनोनीत हुने व्यक्ति केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था पनि गरिएको नेताहरूले बताएका छन् । तथापि महाधिवेशनले संशोधन गरेको विधान सार्वजनिक भइसकेको छैन । 

    अर्का एक पदाधिकारीका अनुसार सभापति थापाले पहिलो चरणमा निर्वाचन नलगेका वरिष्ठ नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेका छन् । थापाको रोजाइमा १४ औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा रहेका नेताहरू छन् ।

     ‘पहिलो चरणमा आफूलाई सहयोग गरेका १४ औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने तयारी सभापतिज्यूको रहेको बुझिन्छ,’ ती पदाधिकारीले भने, ‘केही पदाधिकारीमा निकटतम प्रतिद्वन्द्वी भएर पराजित नेताहरू पनि केन्द्रीय सदस्यमा मनोनीत हुने सम्भावना छ ।’

    स्रोतका अनुसार सभापति थापाले ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, राजन केसी, चिनकाजी श्रेष्ठ, मीन विश्वकर्मा, देवराज चालिसे, सुधीर सिवाकोटी, सुजाता कोइराला, दिलेन्द्र प्रसाद बडू, भरतबहादुर खड्का, ईश्वरी न्यौपानेसहितका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउन छलफल गरिरहेका छन् । 

    कार्की महाधिवेशनमा उपसभापति वा महामन्त्रीका दाबेदार थिए । तर, अन्तिममा कुनै पनि पदमा उम्मेदवारी नदिई बसेका थिए । 

    चालिसे गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीको प्रवक्ता थिए । र, १५ औँ महाधिवेशनमा खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । विश्वकर्मा, रिजाल, श्रेष्ठ, न्यौपाने र बडू अन्तिम समयमा मात्रै महाधिवेशनको पक्षमा खुलेका थिए । न्यौपानेले महिला सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेर अन्तिममा फिर्ता लिएकी थिइन् । 

    गत फागुनमा प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित खड्का अहिले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति छन् । 

    कांग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्की र प्रतिनिधि सभामा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे भने पदेन केन्द्रीय सदस्य हुने व्यवस्था विधानमा छ । त्यस्तै ७ प्रदेशका सभापति पनि कांग्रेसको केन्द्रीय समितिमा पदेन सदस्य हुन्छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार