काठमाडौँ । साउदी अरबको पछिल्लो सुरक्षा अवस्था र हवाई उडानमा देखिएको अवरोधका कारण स्वदेश फर्कने तयारीमा रहेका र साउदी फर्किने नेपाली यात्रुहरू प्रभावित भएका छन्। नेपाल एयरलाइन्सका दुई उडान रद्द हुँदा ५७० जना यात्रु प्रभावित भएका छन्। उडान रद्द भएपछि बिदा सकिन लागेका श्रमिक, आकस्मिक कामले नेपाल जानुपर्ने यात्रु तथा टिकट काटिसकेका नेपालीहरू अन्योलमा परेका छन्।
नेपाल एयरलाइन्सले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सन् २०२६ अक्टोबर १८ र २४ मा दमाम–काठमाडौं तथा काठमाडौं–दमाम रुटका दुई उडान रद्द भएको सूचना जारी गरेको थियो। उडान रद्द भएपछि यात्रुको यात्रा व्यवस्थापन, टिकटको मिति परिवर्तन, रकम फिर्ता तथा आगामी उडान कहिलेदेखि नियमित हुने भन्ने विषयमा चासो बढेको छ।
यसै सन्दर्भमा नेपाल एयरलाइन्सकी साउदी अरब कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीले प्रभावित यात्रुको व्यवस्थापन र आगामी उडान सञ्चालनबारे जानकारी दिँदै यात्रुलाई आधिकारिक सूचनाका आधारमा मात्रै आफ्नो यात्रा योजना बनाउन आग्रह गरेकी छन्।
शर्माका अनुसार, उडान रद्द भएपछि यात्रुले निर्धारित प्रक्रियाअनुसार अतिरिक्त शुल्क नतिरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था छ। पहिलो उडान पुनः सञ्चालनमा आएपछि यसअघि नै टिकट काटिसकेका यात्रुलाई प्राथमिकतामा राखेर यात्रा गराउने गरी सहजीकरण गरिने उनले बताइन्।
विशेषगरी बिदा सकिन लागेका श्रमिक, रोजगारीमा फर्कनुपर्ने यात्रु तथा भिसासम्बन्धी समस्या उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित यात्रुको समस्यालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। उडान रद्द हुँदा यात्रुमा उत्पन्न अन्योल कम गर्न समयमै आधिकारिक सूचना उपलब्ध गराउने र पुनः बुकिङ प्रक्रियालाई सहज बनाउने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताइन्।
साउदी अरबमा कार्यरत नेपाली श्रमिक तथा अन्य यात्रुलाई उडानसम्बन्धी हल्ला र अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह गर्दै शर्माले नेपाल एयरलाइन्सको आधिकारिक वेबसाइट तथा फेसबुक पेजबाट पछिल्लो जानकारी लिन अनुरोध गरेकी छन्। थप जानकारी तथा टिकटसम्बन्धी सहजीकरणका लागि दमामस्थित नेपाल एयरलाइन्सको कार्यालयमा +966 59 8400 198 र +966 58 1421 164 नम्बरमा सम्पर्क गर्न सकिने उनले जानकारी दिइन्।
शर्माले नेपाल एयरलाइन्सले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उडान सञ्चालन गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई ध्यानमा राखी आवश्यकताअनुसार थप उडानको व्यवस्था गर्न सके यात्रुलाई थप सहज हुने बताइन्। थप उडान सञ्चालनले यात्रुको चाप व्यवस्थापन गर्न र यात्रा प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
नेपाल एयरलाइन्सले साउदी अरबबाट उडान सञ्चालन गर्न थालेपछि नेपाली यात्रुले स्वदेश यात्राका लागि अर्को विकल्प पाएको र यसले यात्रु तथा एयरलाइन्स दुवैलाई आर्थिक रूपमा सहयोग पुगेको उनको भनाइ छ। यसअघि पनि जटिल परिस्थितिमा यात्रुको सुरक्षा र सहजतालाई ध्यानमा राखेर सेवा सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन्।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र नेपालको काठमाडौंलाई सिधा हवाई सेवामार्फत जोड्दै आएको छ। पछिल्लो समय यात्रुको माग बढ्दै जाँदा यस रुटमा नियमित उडानको निरन्तरता, थप उडानको व्यवस्था र प्रभावित यात्रुको व्यवस्थापन महत्वपूर्ण विषय बनेका छन्।
नेपाल एयरलाइन्सले सन् २०२२ अप्रिल २२ देखि साउदी अरबको रियादमा सिधा उडान सुरु गरेको थियो, विविध कारणले रियाद उडान बन्द पश्चात भने सन् २०२३ सेप्टेम्बर ६ देखि दमाममा पनि नियमित उडान सञ्चालनमा ल्याएको हो। दमाम उडान सुरु भएपछि साउदी अरबमा कार्यरत नेपाली श्रमिक तथा अन्य यात्रुका लागि नेपाल आवतजावत गर्ने थप हवाई विकल्प उपलब्ध भएको छ।
यद्यपि, साउदी अरबको पछिल्लो सुरक्षा अवस्थाका कारण उडान कहिलेदेखि पूर्ण रूपमा नियमित हुन्छ भन्ने विषयमा यात्रुहरू स्पष्ट जानकारीको प्रतीक्षामा छन्। यस्तो अवस्थामा प्रभावित यात्रुलाई समयमै सूचना उपलब्ध गराउने, टिकट व्यवस्थापनमा सहजीकरण गर्ने र आवश्यकताअनुसार उडान थप्ने विषयलाई यात्रुले महत्वपूर्ण रूपमा हेरेका छन्।
उडान रद्द भएका यात्रुले टिकट परिवर्तन, पुनः बुकिङ तथा रकम फिर्तासम्बन्धी प्रक्रियाबारे आफ्नो टिकट जारी गर्ने कार्यालय वा नेपाल एयरलाइन्सको आधिकारिक माध्यमबाट जानकारी लिनु उपयुक्त हुनेछ।



