Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवासी नेपाली मञ्चको भिडियो प्रतियोगिता, विजेतालाई ७०० डलर पुरस्कार

प्रवासी नेपाली मञ्चको भिडियो प्रतियोगिता, विजेतालाई ७०० डलर पुरस्कार

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट भिडियो बनाउने एक जनालाई ७०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ।

    प्रतियोगिता नोभेम्बर ३ सम्म सञ्चालन हुनेछ। प्रविधिको प्रयोगमार्फत सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मञ्चले जनाएको छ।

    images

    मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौँमा आयोजना हुँदैछ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशनबारे प्रचारप्रसार उपसमितिले जुममार्फत पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

    अधिवेशनमा विश्वभरबाट ४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने मञ्चले जनाएको छ। हाल ३९ देशमा राष्ट्रिय कमिटी, पाँच महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल रहेको मञ्चको अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ।

    पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराईले प्रवासी नेपालीका श्रमिक समस्या र नागरिकतासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए। उनले प्रवासी नेपालीको हितमा मञ्च सक्रिय हुनुपर्नेमा जोड दिए।

    मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनमा प्रवासमा रहेका नेपालीका बहुआयामिक समस्या, अधिकार र नेपालको समृद्धिसँग जोडिएका विषयमा छलफल हुने बताए। उनका अनुसार श्रमिक अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासी नेपालीका साझा समस्या समाधानका लागि आवश्यक रणनीति तय गरिनेछ।

    अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। मञ्चले विदेशमा रहेका नेपालीको सीप, ज्ञान, पुँजी र अनुभवलाई नेपालको राष्ट्रिय विकास तथा समृद्धिमा उपयोग गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रवासमा सक्रिय सामाजिक संघसंस्थासँगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने जनाएको छ।

    पत्रकार सम्मेलन प्रचारप्रसार उपसमितिका संयोजक भक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। मञ्चले विश्वभर रहेका आफ्ना राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई अधिवेशन सफल बनाउन सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार