Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए चुनावमुखी मात्र भयो, अब १० वर्षे मार्गचित्र बनाएर ‘समृद्ध नेपाल’निर्माणमा जुटौं : आरके शर्मा

एनआरएनए चुनावमुखी मात्र भयो, अब १० वर्षे मार्गचित्र बनाएर ‘समृद्ध नेपाल’निर्माणमा जुटौं : आरके शर्मा

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले संस्था ‘चुनावदेखि चुनावसम्म’ मात्र सीमित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली दिवस (एनआरएनए डे) को अवसर पारेर आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै शर्माले एनआरएनएको नेतृत्वले अब सानातिना विवादलाई छाडेर आगामी १० वर्षको स्पष्ट मार्गचित्र (मास्टर प्लान) बनाएर समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै शर्माले विगत २३ वर्षमा एनआरएनएले नेपाली नागरिकता, श्रमिकका समस्या र मानवीय कार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरे पनि पछिल्लो समय संस्थाको नेतृत्व क्षमतामा केही कमजोरी देखिएको औंल्याए । उनले भने, “हामी चुनावदेखि चुनावसम्म मात्र केन्द्रित भयौं । सम्मानित राजनीतिक दलहरुलाई हामीले नेतृत्वमा पुग्नका लागि प्रयोग गर्यौं कि हाम्रा एजेन्डा स्थापित गर्न प्रयोग गर्यौं ? यो गम्भीर समीक्षाको विषय हो ।” ८० लाख गैरआवासीय नेपालीहरुले संस्थालाई हेरिरहेको भन्दै उनले सम्पूर्ण पिलरहरु एकै ठाउँमा नउभिए संस्था दुर्घटनामा पर्न सक्ने चेतावनी समेत दिए ।

    images

    आफ्नो सम्बोधनका क्रममा शर्माले नेपालको आर्थिक समृद्धि र श्रमिकको विप्रेषण (रेमिट्यान्स) को सदुपयोगका विषयमा विशेष जोड दिएका थिए । नेपालको अर्थतन्त्रको प्राणवायु नै रेमिट्यान्स भएको उल्लेख गर्दै उनले वार्षिक २४ खर्ब रेमिट्यान्स भित्रिए पनि त्यसको ७० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको तथ्यांक प्रस्तुत गरे ।
    यसै सन्दर्भमा उनले सामूहिक लगानीको अवधारणा र हालै स्थापना भएको १० अर्बको कोषको चर्चा गरे ।

    “सन् २०१२/१३ तिरै मैले सामान्य महिनाको ४०–५० हजार कमाउने श्रमिक दाजुभाइको रकमलाई एकीकृत गरेर सामूहिक लगानी गर्नुपर्छ भन्दै आवाज उठाएको थिएँ । तर, हाम्रा छिमेकी राष्ट्रहरुले यस्तो कामलाई हातहातै लाइसेन्स दिने भए पनि हाम्रो देशमा धेरै जुत्ता र पापड फटाएपछि बल्ल ७ वर्षमा बल्ल कम्पनी दर्ता भयो,” सरकारी झन्झटिलो
    प्रक्रियाप्रति गुनासो गर्दै उनले भने । उनले १० अर्बको कोष स्थापना हुनु राम्रो सुरुवात भए पनि यसलाई अझै विस्तार गर्नुपर्ने र यसमा सबैको साथ आवश्यक रहेको बताए ।

    वित्तीय साक्षरताको कमीले नेपाली श्रमिकले दुःख पाएको कुरा बुझाउन शर्माले भारतीय श्रमिकको उदाहरण पेस गरे । “महिनाको ५० हजार मात्र कमाउने भारतीय दाजुभाइहरुले पनि म्युचुअल फण्ड लगायतका क्षेत्रमा लगानी गर्छन् किनकि उनीहरुमा वित्तीय साक्षरता छ । तर हाम्रा श्रमिक दाजुभाइको पैसा उपभोगमै सकिन्छ,” उनले उदाहरण दिँदै भने ।

    यस्तै, शर्माले समाजमा बढ्दै गएको देखासिकी र अनुत्पादक खर्चप्रति निकै भावुक र सटिक उदाहरण प्रस्तुत गरे । एक पुस्ताले मात्र रगतपसिना बगाएर देश समृद्ध नहुने भन्दै उनले भने, “खाडीमा बाबुले १८ किलोको इँटा उठाउँदै गर्दा यता घरमा २० वर्षको छोराले बाइक चढेर कलेज जानुपर्ने अलि नसुहाउँदो संस्कारको विकास भएको छ । एक
    पुस्ताले मात्र अहोरात्र दुःख गरेर समृद्ध नेपाल निर्माण हुँदैन, यसका लागि सबैको
    साझा र सचेत प्रयास आवश्यक छ ।”

    अन्तमा शर्माले नयाँ सरकार र प्रधानमन्त्रीसँग भेटघाट गर्नु मात्र ठूलो कुरा नभई आफ्ना ठोस एजेन्डा र १० वर्षे योजना प्रस्तुत गर्न सक्नुपर्नेमा वर्तमान नेतृत्वको ध्यानाकर्षण गराए । विश्वका अन्य डायस्पोराभन्दा नेपाली डायस्पोरा मानवीय कार्यमा अग्रपंक्तिमा रहेको दाबी गर्दै उनले सिकेको ज्ञान, सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउन सम्पूर्ण गैरआवासीय नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार