काठमाडौँ । न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवाले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट नेत्र घिमिरेले पाल्मस्र्टन नर्थ निर्वाचन क्षेत्र र ग्रिन पार्टीका तर्फबाट श्रीजन पाण्डेले क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। फरक राजनीतिक पृष्ठभूमि र व्यावसायिक अनुभव भएका दुवै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन्।
दुवैले आफू आबद्ध राजनीतिक दलका नीति र आफ्ना प्राथमिकताबारे मतदातालाई जानकारी दिँदै समर्थनका लागि अपिल गरेका छन्। घिमिरेले शिक्षण पेसाबाट प्राप्त अनुभवका आधारमा युवाको भविष्य, शिक्षा, सीप विकास र जीवनयापनको बढ्दो खर्चलाई प्राथमिकतामा राखेका छन्। इलेक्ट्रिकल इन्जिनियर पाण्डेले भने स्वच्छ ऊर्जा, वातावरण संरक्षण, किफायती जीवनयापन र हरित प्रविधिमा लगानी बढाउने विषयलाई आफ्नो चुनावी एजेन्डामा समेटेका छन्।
पाल्मस्र्टन नर्थबाट उम्मेदवारी दिएका घिमिरेको बाल्यकाल नेपालस्थित शरणार्थी शिविरमा बितेको थियो। उनी ११ वर्षको उमेरसम्म त्यहीँ हुर्किएका थिए। त्यसपछि न्युजिल्यान्ड आएर नयाँ जीवन सुरु गरेका घिमिरेले आफूलाई अवसर प्रदान गरेको समाजमा योगदान गर्ने चाहना आफ्नो राजनीतिक यात्राको प्रमुख प्रेरणामध्ये एक भएको बताए।
घिमिरे माध्यमिक तहमा सामाजिक अध्ययन, शारीरिक शिक्षा र वित्तीय साक्षरता विषयमा पढाउँछन्। शिक्षण पेसाका क्रममा युवासँग नजिक भएर काम गर्दा उनीहरूले सामना गरिरहेका चुनौती, भविष्यप्रतिको अन्योल र व्यावहारिक सीपको आवश्यकतालाई बुझ्ने अवसर पाएको उनले बताए।
‘युवाले सामना गरिरहेका समस्यालाई नीतिनिर्माणमार्फत सम्बोधन गर्न सकियोस् भन्ने उद्देश्यले म संसद्को उम्मेदवार बनेको हुँ,’ घिमिरेले भने, ‘युवालाई परम्परागत शैक्षिक योग्यतामा मात्र सीमित नराखी प्राविधिक शिक्षा, उद्यमशीलता, प्रविधि र व्यावहारिक सीपका क्षेत्रमा पनि अवसर उपलब्ध गराउनुपर्नेमा मेरो जोड रहने छ।’ उनका अनुसार बढ्दो जीवनयापन खर्च, आवासको समस्या र परिवारमाथिको आर्थिक दबाब अहिलेका
प्रमुख चुनौती हुन्।
यता, क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रिन पार्टीका उम्मेदवार बनेका श्रीजन पाण्डेले वातावरण संरक्षण, स्वच्छ ऊर्जा र आर्थिक अवसर सिर्जनालाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएका छन्। इलेक्ट्रिकल इन्जिनियर पाण्डेले पाल्मस्र्टन नर्थ ब्वाइज हाइस्कुल र क्यान्टरबरी विश्वविद्यालयमा अध्ययन गरेका हुन्। करिब दुई दशकदेखि जलवायु परिवर्तन र ऊर्जा समाधानका क्षेत्रमा काम गर्दै आएका उनले वायु ऊर्जा केन्द्रको डिजाइनदेखि अन्तर्राष्ट्रिय स्तरका स्वच्छ ऊर्जा पहलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेसम्मको अनुभव हासिल गरेका छन्।
निर्वाचनमा होमिएका घिमिरे र पाण्डे फरक राजनीतिक दलबाट प्रतिस्पर्धा गरिरहेका छन् र उनका चुनावी प्राथमिकता पनि समान छैनन्। मतदाताले उम्मेदवारका व्यक्तिगत प्रतिबद्धता, सम्बन्धित दलको नीति तथा आफ्नो निर्वाचन क्षेत्रका आवश्यकताका आधारमा निर्णय गर्नेछन्।
न्युजिल्यान्डमा नेपाली समुदायको राजनीतिक सहभागिताको विषयलाई महत्व दिँदै न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज श्रेष्ठले नेपाली मूलका व्यक्तिहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानलाई नीतिनिर्माणको तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपालीहरू आमनिर्वाचनमा केन्द्रीय पार्टीबाट उम्मेदवार बन्ने नेपालीहरूका लागि खुसीको कुरा रहेको बताए। उनले भने, ‘नेपाली समुदायका सरोकारलाई स्थानीय तथा राष्ट्रिय राजनीतिक प्रक्रियामा प्रभावकारी रूपमा प्रस्तुत गर्न नेपालीहरू राजनीतिमा अघि बढ्नुपर्ने देखिएको छ।’
हिप्किन्स र लक्सनबीच मुख्य प्रतिस्पर्धा

न्युजिल्यान्डमा नयाँ सरकार चयनका लागि आमनिर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचनका लागि सोमबार, अक्टोबर २६ देखि अग्रिम मतदान सुरु भएको छ भने यो प्रक्रिया आगामी नोभेम्बर ६ सम्म जारी रहनेछ। तर, मुख्य मतदान नोभेम्बर ७, शनिबार हुनेछ।
निर्वाचन आयोगका अनुसार त्यस दिन देशभर २३ सयभन्दा बढी मतदान केन्द्र सञ्चालन गर्ने तयारी छ। निर्वाचनको प्रारम्भिक परिणाम मतदानकै दिन साँझदेखि सार्वजनिक गरिनेछ भने आधिकारिक परिणाम नोभेम्बर २७ मा घोषणा गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।
निर्वाचन आयोगले गत अक्टोबर २२ सम्मको तथ्यांकअनुसार योग्य मतदातामध्ये ९२.२ प्रतिशत निर्वाचन आयोगमा नाम दर्ता गराएका छन्। यो मतदानमा सहभागी हुने प्रतिशत नभई मतदाता दर्ताको दर हो।
सन् २०२३ को आमनिर्वाचनमा योग्य मतदातामध्ये ९४.७ प्रतिशत दर्ता भएका थिए भने दर्ता भएका मतदातामध्ये ७८.२ प्रतिशतले मतदान गरेका थिए। तर, यो वर्ष कति मतदाता दर्ता भए र कति मत खस्छ अझै यकिन भइसकेको छैन। मतादाताको अन्तिम नामावली सार्वजनिक नभए पनि जारी निर्वाचनमा वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेस्नल पार्टी र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्सबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
विभिन्न समयमा गरिएका मत सर्वेक्षणले यी दुई नेताबीच एक भावी प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै छ। यद्यपि, सरकार गठनमा ग्रिन पार्टी, एक्ट पार्टी, न्युजिल्यान्ड फस्र्ट र ते पाटी माओरीको भूमिका पनि महत्वपूर्ण देखिएको छ। तर, न्युजिल्यान्डको मिश्रित समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पार्टीले प्राप्त गर्ने मतसँगै निर्वाचन क्षेत्रका परिणाम र दलहरूबीचको सहकार्यले सरकार गठनको सम्भावना तय गर्नेछ।
अक्टोबर २० मा सार्वजनिक १ न्युज–भेरियन सर्वेक्षणमा नेस्नल पार्टीले ३२ प्रतिशत र लेबरले २७ प्रतिशत समर्थन पाएका थिए। त्यसै दिन सार्वजनिक पोस्ट–फ्रेसवाटर स्ट्राटेजी सर्वेक्षणमा भने लेबर २८.७ प्रतिशत र नेसनल पार्टी २७.६ प्रतिशतमा थिए। सर्वेक्षणमा फरक परिणाम देखिएकाले पनि दुई प्रमुख दलबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।



