काठमाडौं । साउदी अरबमा पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरेको हो।
दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक तस्बिर तथा भिडियो पोस्ट र सेयर नगर्न पनि नेपाली नागरिकलाई सचेत गराएको छ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ।
कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा फोन वा इमेलमार्फत सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ। रोजगारीका लागि प्रत्येक वर्ष नेपालबाट करिब ९० हजार नेपाली साउदी अरब जाने गरेका छन्।




