काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहारसुसार केन्द्रका लागि पठाइने सहायक श्रमिक (केयरगिभर) छनोट गर्न लिइएको अंग्रेजी भाषा परीक्षालाई नियमित गर्न सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनलाई निर्देशन दिएको छ । भाषा परीक्षामा सहभागी हुन कम्तीमा १४ हजार जनाले आवेदन दिइसकेका छन् ।
विभागले तोकिएको मितिभित्र भाषा परीक्षा सम्पन्न गरी नतिजा दिन भन्दै मंगलबारदेखि अवरुद्ध परीक्षालाई निरन्तरता दिन पत्र पठाएको हो । ‘भाषा परीक्षा रोक्न मिल्दैन । इच्छुक उम्मेदवारले असार ७ गतेभित्र विभागमा आवेदन दिइसक्नुपर्नेछ,’ विभागका महानिर्देशक मीरा आचार्यले भनिन्,‘भाषा परीक्षाका लागि आवेदन दिइसकेको सबैले परीक्षामा सहभागी हुन पाउनुपर्छ ।’
अंग्रेजी भाषामा तोकिएको तह उत्तीर्ण भएपछि मात्रै विभागमा आवेदन दिन पाइन्छ । यो मापदण्डको परीक्षाका लागि इजरायलले ५ हजार रुपैयाँ शुल्क तोकेको छ । इजरायलको मापदण्डअनुसार सबैभन्दा बढी प्राथमिकता अंग्रेजी भाषाको 'स्पिकिङ' लाई दिइएको छ । कम्तीमा पनि स्पिकिङमा 'बी वान' ल्याउनुपर्नेछ । 'राइटिङ' मा ‘ए वान, 'लिसनिङ' र 'रिडिङ' मा भने ‘ए टु’ ल्याउनुपर्नेछ ।
सीआईआईएनले सोमबारदेखि भाषा परीक्षा लिन थालेको थियो । पहिलो दिनको परीक्षामा सहभागी ८ सय ४० जनामध्ये ३८ जना मात्रै उत्तीर्ण भएका थिए । ‘८० प्रतिशतका ए टु तहको नतिजा आएको छ । तर, स्पिकिङमा बी वान उत्तीर्ण गर्नेको संख्या न्यून छ,’ सीआइआईएनले भनेको छ ।
सोमबार लिइएको परीक्षामा अनुत्तीर्णमध्ये केहीले एआईबाट परीक्षण गरेको र परीक्षा हलमा उचित व्यवस्थापन नभएको भन्दै मंगलबार बिहान परीक्षा हलमै विरोध गर्न पुगेका थिए । सोही क्रममा कर्मचारी र परीक्षार्थीबीच केहीबेर झडप भएको थियो । वैदेशिक रोजगार विभागले भने भाषा परीक्षाको नतिजाबारे अध्ययन भइरहेको जनाएको छ । ‘सहभागीले जुन विषयमा प्रश्न उठाएका छन् । त्यसमा विभागको प्राविधिक टिमबाट बुझ्ने काम भइरहेको छ,’ महानिर्देशक आचार्यले भनिन्,‘त्यसको प्रतिवेदन पेस हुन्छ ।’
सीआईआईएनले मंगलबार र बुधबार परीक्षा लिएको छैन ।‘अप्रत्याशित एंव हाम्रो नियन्त्रणबाहिरको परिस्थितिका कारण यस केन्द्रमा सञ्चालन हुने सम्पूर्ण परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ,’ सीआइआईएनले विज्ञप्ति जारी गर्दै भनेको छ ।
कान्तिपुरको लागि होम कार्की



