Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कोषको व्यवस्था नहुँदा राईको शव नेपाल ल्याउन समस्या : परराष्ट्रमन्त्री

कोषको व्यवस्था नहुँदा राईको शव नेपाल ल्याउन समस्या : परराष्ट्रमन्त्री

सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ । कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउनका लागि समस्या उत्पन्न भएको परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् । धादिङको धुनीवेशी नगरपालिका–९ स्थित जुगेडी निवासी ४२ वर्षीय राई गत वर्ष भदौमा अवैधानिक रूपमा भारतको बाटो हुँदै कम्बोडिया पुगेका थिए । तर वैशाख २९ गते उपचारको क्रममा काल्मेट अस्पतालमा  ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको थियो ।

    कमजोर आर्थिक अवस्था र कानुनी झन्झटका कारण शव नेपाल ल्याउन नसकेको भन्दै मृतकका श्रीमती जुनु राईले सहयोग गरिदिन हारगुहार गरेकी थिइन् ।

    images

    यस विषयमा परराष्ट्र मन्त्री खनालले  जानकारी गराए । जवाफमा उनले परराष्ट्र मन्त्रालयमार्फत शव नेपाल ल्याउन सहजीकरण भइरहेको तर अवैधानिक रूपमा गएका हुनाले समस्या आइरहेको बताए । 

    ‘यसमा अस्तिदेखि परराष्ट्र मन्त्रालयले सहजीकरण गरिराखेको छ। परराष्ट्रमा यस्तो छुट्टै कोष छैन। वैद्य श्रम स्वीकृति लिएर गएको अवस्थामा वैदेशिक रोजगार कोषबाट हुन्थ्यो । भिजिट भिजामा अवैध तरिकाले गएको हकमा नेपाल सरकारसँग हालसम्म कुनै कोषको व्यवस्था छैन। ‌ परिवारले वा एनआरएनको सहयोगमा गर्ने गरिएको र हाल पनि एनआरएनएसँग सहयोग मागिएको अवस्था हो’, उनले भने । 

    ६ दिनदेखि राईको शव कम्बोडियाको अस्पतालमा अलपत्र हुँदा मृतकका परिवार थप पीडामा परेका छन् । कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूतावासले  प्रवेशाज्ञाको अवधिभन्दा बढी कम्बोडियामा बसिरहेका राईलाई ‘ओभर स्टे फाइन’ कम्बोडिया सरकारबाट माफी गराई वैशाख ३० गते घर फर्काउने तयारी भएकै बेला यो घटना भएको बताएको छ ।

    उनी बिरामी भएकै बेला दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार