काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।
कार,भ्यान,पिकअप,ट्रयाक्टर,माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ ।
यस्तै मिनीबस,मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ र काठमाडौंबाट प्रस्थान गर्दा ८० दस्तुर तोकिएको छ ।
त्यसैगरी बस,ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० र काठमाडौंबाट प्रस्थान गर्दा २०० दस्तुर तोकिएको छ । त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट प्रस्थान गर्दा २५० दस्तुर तोकिएको छ ।
यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन भएको हो।



