Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजदूत थापा र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता

राजदूत थापा र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता

बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।

    भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका छन् । राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेरेसले विपत्तिप्रति समवेदना व्यक्त गर्दै बहुपक्षीय सहयोग अघि बढाउन नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

    images

    गुटेरेसले अल्पविकसित राष्ट्रहरूको अध्यक्षतामार्फत विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सहजीकरण तथा राष्ट्रसंघको पहिलो समितिको अध्यक्षलगायतका प्रक्रियामा नेपालले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

    उनले जलवायु परिवर्तनविरुद्ध नेपालको निरन्तर वकालत तथा विश्व शान्ति र सुरक्षामा नेपाली सेना र प्रहरीले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका थिए ।

    भेटमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असर, पूर्वचेतावनी प्रणालीको सुदृढीकरण, जलवायुजन्य विपत्तिविरुद्ध उत्थानशीलता बढाउने तथा विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको नियोगले जनाएको छ ।

    गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविर पुगेको स्मरण गर्दै हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको विनाशकारी प्रभावबारे विश्वको ध्यानाकर्षण गराएको बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार