Oct 28 2026 | २०८३ कार्तिक १२ गते

महालेखाको प्रतिवेदन: रूप ज्योति समूहद्वारा अर्बौँ कर्जा दुरुपयोग र कर छली, कारबाही सिफारिस

महालेखाको प्रतिवेदन: रूप ज्योति समूहद्वारा अर्बौँ कर्जा दुरुपयोग र कर छली, कारबाही सिफारिस

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति र उनी सम्बद्ध कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको अर्बौँ रुपैयाँ कर्जा तोकिएको व्यावसायिक प्रयोजनमा प्रयोग नगरी गैरकानूनी रूपमा अपचलन गरेको उजागर भएको छ। महालेखापरीक्षकको प्रतिवेदनले ज्योति समूहअन्तर्गतका कम्पनीहरूले कर्जा दुरुपयोग गरी कर छली गरेको तथ्य औँल्याउँदै छानबिन र कारबाहीका लागि सिफारिस गरेको हो।

    नेपाल जनरल मार्केटिङ्ग प्रालि र स्याकार कम्पनी प्रालिले बैंकिङ्ग नियम विपरीत विना धितो अन्य व्यक्ति वा संस्थालाई महँगो ब्याजदरमा ऋण लगानी गरेको तथा वित्तीय विवरणमा हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रपतिसमक्ष पेस भई संघीय संसद्को सार्वजनिक लेखा समितिमा पुगेको उक्त प्रतिवेदनले बैंकिङ्ग कर्जा दुरुपयोग र आयकर नोक्सानीबारे कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ।

    images

    महालेखापरीक्षकको प्रतिवेदन अनुसार नेपाल जनरल मार्केटिङ्ग प्रालिको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अत्यन्त शङ्कास्पद पाइएको छ। कम्पनीले बैंकबाट सुरक्षित ऋणबापत २ अर्ब ९१ करोड ९४ लाख, विभिन्न व्यक्तिबाट ब्याजमा ३५ करोड १४ लाख र ब्याज नतिर्ने गरी २ करोड १० लाख गरी कुल ३ अर्ब २९ करोड १८ लाख रुपैयाँ बराबरको ऋण दायित्व बोकेको छ।

    तर, उक्त रकम वास्तविक व्यापारमा नलगाई १ अर्ब ४ करोड ३ लाख रुपैयाँ दुरुपयोग गरिएको छ। जसमा ८८ करोड ९९ लाख रुपैयाँ अन्यत्रै ऋण लगानी गरिएको छ भने १५ करोड ३ लाख रुपैयाँ ‘क्यास इन ह्याण्ड’ (नगद मौज्दात) देखाइएको छ।

    वित्तीय विवरणमा असङ्गत तथ्यांक पेस गरिएकाले लेखापरीक्षकले आधिकारिक राय दिन अस्वीकार गर्दै ‘डिसक्लेमर अफ अपिनियन’ जारी गरेका छन्। नेपाल राष्ट्र बैंक ऐन र बैंकिङ्ग कसुर तथा सजाय ऐन विपरीत भएका यस्ता कार्यमाथि विशेष छानबिन गर्न महालेखाले ठूला करदाता कार्यालयलाई निर्देशन दिएको छ।

    ज्योति समूहकै अर्को संस्था स्याकार कम्पनी प्रालिले आर्थिक वर्ष २०७९/८० मा अर्बौँको वित्तीय चलखेल गरी कर छली गरेको भेटिएको छ। कम्पनीले अघिल्ला वर्षहरूमा ४४ करोड १३ लाख रुपैयाँभन्दा बढी औसत सुरक्षित ऋण देखाएर ६ करोड २८ लाख रुपैयाँ ब्याज खर्च दाबी गर्दै कर छुट लिन खोजेको थियो।

    यद्यपि, कम्पनीले अन्यत्र सापटी, सेयर खरिद पेस्की र अन्य शीर्षकमा गरी कुल २ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ लगानी वा परिचालन गरेर प्राप्त आम्दानी भने करको दायरामा ल्याएको छैन। आयकर ऐन अनुसार ‘एक्युरल’ (भुक्तानी पाउने अधिकार सिर्जना हुनासाथ) आधारमा आय गणना गर्नुपर्नेमा नगद प्रणाली देखाएर आय विवरण लुकाइएको हो।

    महालेखाका अनुसार २ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको औसत १३.६२ प्रतिशतका दरले हुन आउने ३३ करोड ७६ लाख रुपैयाँ वास्तविक ब्याज आम्दानी लुकाइएको छ। सो आम्दानीको २५ प्रतिशतले हुन आउने ८ करोड ४४ लाख २० हजार रुपैयाँ कर पूर्ण रूपमा छली गरिएको प्रतिवेदनमा उल्लेख छ।

    उक्त कर छली रकममा आयकर ऐन, २०५८ बमोजिम थप शुल्क र ब्याजसमेत जोडेर तत्काल कर निर्धारण गर्न महालेखापरीक्षकको कार्यालयले आन्तरिक राजस्व कार्यालयलाई कडा निर्देशन दिएको छ।

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार