Oct 29 2026 | २०८३ कार्तिक १३ गते

‘अर्नब’ चक्रवातको प्रभाव : कहाँ–कहाँ छ बाढीको जोखिम ?

‘अर्नब’ चक्रवातको प्रभाव : कहाँ–कहाँ छ बाढीको जोखिम ?

बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ । ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारहरूमा उल्लेखनीय वर्षा भई जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । 

    बाढी पूर्वानुमान महाशाखाले बाढी तथा अन्य जलजन्य जोखिम आकलनसम्बन्धी पूर्वसूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

    images

    महाशाखाका अनुसार विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार, तिनका उपजलाधार तथा आसपासका क्षेत्रहरूमा उल्लेखनीय वर्षा हुनेछ। यसबाट नदीहरूको जलसतह बढ्न सक्ने सम्भावना छ।

    हालको आकलनअनुसार प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने जोखिम न्यून देखिए पनि वर्षाको वास्तविक मात्रा र नदीको अवस्थाअनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ।

    बिहीबारदेखि नारायणी, कोशी, बागमती, कमला र कन्काई जलाधारमा जलसतह सामान्य बढ्न सुरु भई न्यून जोखिम रहनेछ। यस्तै, शुक्रबार नारायणी, कोशी र तिनका शाखा नदीहरू तथा बागमती, कमला र कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षासँगै जलसतह उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण छ। महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतहमा सामान्य मात्र वृद्धि हुने देखिएको छ।

    लगातारको वर्षाका कारण शनिबार प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्ने अनुमान छ। यद्यपि नदीहरूले सतर्कता तह पार गर्ने सम्भावना भने न्यून रहेको महाशाखाले प्रस्ट्याएको छ। कात्तिक १५ गते आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा भई जोखिमको तह घट्दै जाने पूर्वानुमान गरिएको छ।

    यसैगरी, कोशी तथा नारायणी जलाधारका उच्च हिमाली भेगहरूमा हिमपात र हिमपहिरोजन्य जोखिमको सम्भावना औँल्याइएको छ। विशेषगरी बिहीबार र शुक्रबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारको पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी र तराई क्षेत्रमा डुबान हुन सक्ने आकलन गरिएको छ। 

    कात्तिक १२, १३ र १४ गतेका लागि पहाडी तथा चुरे क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार