Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा प्रदेशहरूबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ।

    संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार सम्मेलनको उद्घाटन गरेका हुन्। बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको सम्मेलन कात्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

    images

    बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी भएका छन्। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था, विकासका सम्भावना तथा सुधारका विषयमा प्रस्तुति दिएका थिए।

    सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति, कुलपति तथा रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

    सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका उपलब्धि, असल अभ्यास र विद्यमान चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। साथै, प्रदेशहरूबीच सहकार्य गर्न सकिने क्षेत्र पहिचान गर्न छलफल गरिनेछ।

    सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर तथा चुनौती, संघ र प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिलगायत विषयमा छलफल हुनेछ।

    त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई पनि प्राथमिकता दिइने आयोजकले जनाएको छ।

    दुईदिने सम्मेलनबाट प्रदेशस्तरको शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका सम्भावना पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार