Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा कम्पनी छाडेर धमाधम अवैधानिक बन्दै नेपाली

यूएईमा कम्पनी छाडेर धमाधम अवैधानिक बन्दै नेपाली

शुक्रवार, जेठ ३२ २०८१
  • रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरू अरूको लहलहैमा लागेर कम्पनी छाड्ने क्रम बढेको छ ।

    अवुधाबीस्थित नेपाली दूतावासले गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै हालैका दिनमा नेपालबाट श्रम स्वीकृति लिएर यूएईस्थित विभिन्न कम्पनीहरूमा काम गर्न आएका नेपाली श्रमिकहरूले काम सुरु गरेको केही समयमै अनधिकृत व्यक्तिको झुटो प्रलोभनमा परी कम्पनी छाडेर भाग्नेको संख्या बढेको जनाएको हो ।

    images

    सम्वन्धित कम्पनीबाट भागेर समस्यामा परेपछि मात्र दूतावासमा आई नेपालमा तिरेको पैसा तुरुन्त फिर्ता गराइदिन र तत्काल नेपाल पठाइदिन हारगुहार गरेको भन्दै  दूतावासको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    विभिन्न कम्पनीमा काम गर्न आएका नेपालीले सम्झौतानुसारको तलब, सेवा सुविधाहरू नपाएको खण्डमा दूतावासले उपलब्ध गराएको सम्पर्क नम्बर तथा नेपालमा श्रमाधान केन्द्रको ११४१ वा ९८५१३४७२२२ मा ह्वाट्सएप गरी समयमै जानकारी गराउन पनि दूतावासले सबैमा अनुरोध गरेको छ ।

    यूएईको कानुनबमोजिम कम्पनीमा बिनासूचना अनुपस्थित भएमा श्रमिकलाई राहत प्रदान गर्न तथा उद्धार गर्न कम्पनी जिम्मेवार नहुने हुँदा राहत तथा उद्धार प्रक्रियामा कानुनी जटिलता आउने भएकाले कम्पनी छाडेर नहिँड्न दूतावासले त्यहाँ कार्यरत नेपालीहरूलाई सचेत गराएको छ ।

    यूएईमा नेपाली श्रमिकहरूलाई धेरै तलब दिने भनेर भगाउने गिरोह सक्रिय रहेकाले त्यस्ता अनधिकृत व्यक्तिहरूको उक्साहटमा परी कम्पनीमा अनुपस्थित नहुन पनि दूतावासले अनुरोध गरेको छ । यसरी बिनासूचना कम्पनीमा अनुपस्थित भई उत्पन्न हुने समस्याका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने र दूतावासले कुनै पनि सहयोग नगर्ने स्पष्ट पारेको छ ।

    यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले पनि एक सूचना जारी गर्दै भनेको छ, ‘हरेक कम्पनीको ६ महिना प्रोबेसनल पिरियड हुन्छ, त्यतिन्जेल राजीनामा दिन पाइँदैन, हातमा अर्को कम्पनीको अफर लेटर नआउन्जेल र नोटिस पिरियड सर्भ गरी ज्वाइन गर्ने सर्त कन्फर्म नभइ गरिरहेको कामबाट राजीनामा नदिन अनुरोध गरिन्छ ।’

    यूएईको श्रम कानुनअन्तर्गत नियमित सात दिन अनुपस्थित भए वा पटकपटक गरी बिनासूचना वर्षमा २० दिनभन्दा बढी अनुपस्थित भए रोजगारदाता कम्पनीले मार्क गर्छ । त्यसपछि अर्को कम्पनीले रोजगार दिए पनि भिसा लगाइदिन सक्दैन र फाइन आउने गरेको एनआरएनएले जनाएको छ ।

    यस्तो प्रक्रिया हटाउन सोही कम्पनीको एचआरमा फेरि गएर महँगो पैसा तिरैर आमेर सेन्टरमा गएर हटाउनुपर्छ । साथै, राजीनामा दिएको कम्पनीको भिसा क्यान्सिल भएको मितिले एक महिनासम्म नयाँ कम्पनीको भिसा नलागेमा पनि पुरानो कम्पनीले मार्क गर्नसक्ने कानुन रहेको भन्दै अरूको लहलहैमा लागेर बिनासूचना कम्पनी र काम नछाड्न पनि एनआरएनएले अनुरोध गरेको छ । अलपत्र परेकाहरूलाई एनआरएनएले उद्धार तथा सहयोग गर्दै आइरहेको छ ।

    नेपालबाट विभिन्न म्यानपावर कम्पनी तथा दलालहरूले आकर्षक तलबको प्रलोभनमा पारी मोटो रकम लिएर पठाउने गरेको र त्यहाँ पुगेपछि सम्झौतानुसारको काम र तलब नपाउने गरेका कारण पनि नेपाली श्रमिकहरूले रोजगारदाता कम्पनी छाड्ने गरेको त्यहाँ क्रियाशील नेपाली संघसस्थाहरूले बताउने गरेका छन् । कतिपय भने नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर काम नपाउँदा पनि अलपत्र पर्ने गरेका छन् ।

    -योगेन्द्र योगी 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार