काठमाडौं । कतारमा पछिल्लो १७ महिनाको अवधिमा १७० जना नेपाली कामदारको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा अधिकांश साँझ राम्रोसँग खानपिन गरेर सुतेका कामदार छन् । त्यसरी ज्यान गुमाउनेलाई सुतेकै अवस्थामा मृत्यु हुनेहरु भनिने गरिएको छ ।
१७ महिनाको अवधिमा कतारमा सुतेकै अवस्थामा मात्र ८७ जनाले मृत्युवरण गरेका छन् भने सडक दुर्घटनामा २६ जना र ३४ जनाले आत्महत्या गरेर ज्यान गुमाएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । मृत्यु हुनेमा आधिकांश पुरुष रहेको दूतावासले जनाएको छ ।
कतारमा धेरैले ‘कार्डिएक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । एक तथ्यांकअनुसार दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर कोठा अत्यधिक चिसो बनाएर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिएक एरेस्टको सिकार हुने गरेको पाइएको छ । त्यसैगरी मादक पदार्थ एकैपटक धेरै मात्रामा पिउने, असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनाबलगायतका कारण पनि मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।
त्यस्तै ट्राफिक नियमको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरूले सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरूको संख्या पनि निकै उच्च हुने गरेको हो ।
कतार रोजगारीका लागि निकै आकर्षक मानिन्छ । हाल रोजगारी तथा व्यवसाय गर्ने करिब साढे ३ लाख नेपाली कतारमा रहेका छन् । तथ्यांकअनुसार दैनिक औसत २ जनाभन्दा बढी नेपाली कामदारको शव विदेशबाट नेपाल भित्रिरहेको छ ।



