काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा अध्यागमनका कर्मचारीले असुल्ने गरेकोबारे अख्तियारमा ३ दिनअघि उजुरी परेको थियो । सो उजुरीको आधारमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो टिमलाई त्यसबारे अनुसन्धानमा परिचालन गरे ।
प्रारम्भिक अनुसन्धान गर्दा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईको भूमिका ‘शङ्कास्पद’ देखिएपछि बुधवार उनी पक्राउ परेका हुन् । प्रारम्भिक सोधपुछ पछि उनी रिहा भएका छन् ।
अध्यागमनका कर्मचारीको ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पर्यटक भिसा लगाएर यूएई र कुवेततर्फ जाने महिलाहरूलाई अध्यागमनका कर्मचारीहरूले कोड भाषामा ‘एल’ भन्छन् ।
पुरुषलाई ‘एस’ कोडवर्ड प्रयोग गरेर रकम असुल्ने गरिएको विमानस्थलका कर्मचारीहरू बताउँछन् । पर्यटक भिसामा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका छन् ।
कुवेत पुगेका महिलाहरू त्यहाँ घरेलु कामदारको रूपमा बस्ने र थप पीडित भएर फर्किने गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो । बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले खाडीमा जानेहरूबाट एक जना महिलासँग कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेको आरोप छ ।
३ दिनअघि अख्तियारमा परेको उजुरीमा ट्राभल एजेन्सी र मेनपावर कम्पनीहरूसमेत मिलेर दैनिक ३० देखी ४० लाख असुल्ने गरेको उल्लेख थियो । उजुरीमा भनिएको थियो, ‘दिनहुँ ४० लाखसम्म असुलेर लुट मच्चाउने काम भइरहेको छ ।’
आयोगमा परेको उजुरीमा प्रतिव्यक्ति ३० हजारदेखि ४० लाख असुल्ने गरेको उल्लेख छ । सो उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान गरेर सहसचिव भट्टराईलाई नियन्त्रणमा लिइएको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।



