काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा श्रम स्वीकृति लिएर काम गर्ने नेपालीको संख्या ६ लाख पुगेको छ ।
“नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकको रूपमा रहेको यूएईमा करिब ६ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गरिरहेको अनुमान छ,” यूएईको अुबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो भनेको नेपालको कुल जनसंख्याको २.०५ प्रतिशत हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ ।
पछिल्ला वर्ष वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट सबैभन्दा ठूलो संख्यामा युवाहरू यूएई जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, पछिल्ला वर्ष प्रत्येक महिना २० हजारभन्दा बढी नेपाली रोजगारीका लागि यूएई जाने गरेका छन् ।
“यूएईमा विभिन्न क्षेत्रहरूमा भएको लगानी विस्तारका कारण रोजगारीको अवसरमा भएको वृद्धि तथा यहाँका रोजगारदाताले नेपाली श्रमिकलाई प्राथमिकताका साथ भर्ना गर्न देखाएको रुचिलगायत विभिन्न कारणले नेपाली कामदारको मागमा पनि निरन्तर वृद्धि भइरहेको छ,” यूएईमा नेपालीसको संख्या बढ्नुको कारण नेपाली दूतावासले खुलाएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८०/८१ वैदेशिक रोजगारीमा गएका कुल सात लाख ४१ हजार २९७ जना नेपालीमध्ये एक लाख ९३ हजार ४३८ जना यूएई पुगेका थिए । अर्थात्, उक्त वर्ष वैदेशिक रोजगारीमा विदेश जाने कुलमध्ये २६.०९ प्रतिशतले यूएईलाई आफ्नो गन्तव्य बनाएका थिए ।
आर्थिक वर्ष २०७८/७९ मा एक लाख २२ हजार ६३५ जना र २०७९/८० मा एक लाख १६ हजार १५९ जना नेपाली वैदेशिक रोजगारीको लागि यूएई गएको विभागको तथ्यांकले देखाउँछ ।
विभागका अनुसार, पछिल्लो तीन आार्थिक वर्ष ९२०७८/७९ देखि २०८०/८१० मा मात्र रोजगारी खोज्दै चार लाख ३२ हजार २३२ जना नेपाली यूएई गएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा अघिल्लो आर्थिक वर्षमा गएकाभन्दा बढी नेपाली वैदेशिक रोजगारीको लागि यूएई गइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो नौ महिना अर्थात् २०८१ साउनदेखि चैत मसान्तसम्मको अवधिमा एक लाख ९६ हजार ९२१ जना नेपाली रोजगारीका लागि यूएई गएको विभागको तथ्यांकले देखाउँछ ।
औसतमा प्रतिमहिना २१ हजार ८८० नेपाली रोजगारीका लागि यूएई जान्छन्
बितेको नौ महिनामा प्रत्येक महिना औसतमा २१ हजार ८८० जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि यूएई गएका छन् ।
विभागको तथ्यांकअनुसार, २०८१ साउनमा १७ हजार ५४१, भदौमा १८ हजार ६०५, असोजमा १७ हजार ७२४, कात्तिकमा २३ हजार ६९, मंसिरमा २४ हजार ७६९, पुसमा २१ हजार १२१, माघमा २५ हजार ३०४, फागुनमा २५ हजार ११७ र चैतमा २३ हजार ६७१ जना नेपाली रोजगारीका लागि यूएई गएको देखिन्छ ।
वैदेशिक रोजगारीको लागि मात्र होइन, पछिल्ला वर्ष घुम्नका लागि यूएई जाने नेपालीको संख्या पनि बढ्दो छ । यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई उपलब्ध गरेको तथ्यांकअनुसार, सन् २०२४ मा चार लाख ३७ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए ।
सन् २०२३ मा यो संख्या एक लाख ७५ हजार रहेको थियो । सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली यूएई पुगेका थिए ।



