काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६८ हजार ९६३ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।
माघमा ७२ हजार ४४१ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो ।फागुनमा म्यानपावर कम्पनीबाट ३० हजार १२७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
नेपाली राजदूतावास र नियोगहरूबाट युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरणको समस्या समाधान नहुँदा फागुनमा पनि ठूलो संख्यामा नेपाली युवा–युवती खाडी मुलुक गएका देखिन्छ । त्यसमध्ये यूएईमा सबैभन्दा बढी नेपाली गएका छन् ।
फागुनमा यूएईका लागि २५ हजार ११७ जनाले श्रम स्वीकृति लिएकामा म्यानपावर कम्पनीमार्फत १७ हजार ३२६ जना गएका छन् । ठूलो संख्यामा भिजिट भिसामा जाने उक्त मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा १ हजार ९५३ जना गएका छन् ।
यूएईपछि साउदी अरब दोस्रो स्थानमा छ । म्यानपावर कम्पनीमार्फत ५ हजार ६१२ जना गएको साउदी अरेबियामा फागुनमा ११ हजार ६३३ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत २ हजार ७०२ जना गएका कतारमा सबै प्रकृतिका श्रम स्वीकृतिबाट १० हजार ३३१ जना गएका छन् ।
फागुनमा मलेसिया जानेको संख्या अघिल्लो महिनाभन्दा बढेको छैन । म्यानपावर कम्पनीमार्फत १३८ जना मात्र गएका उक्त मुलुकमा फागुनमा समग्रमा ३ हजार ७१५ गएका छन् । बहराइनमा म्यानपावर कम्पनीले ५५४ जना, साइप्रसमा ७१९ जना पठाउन सकेका छन् ।
जापानमा १ हजार ९६६ जाँदा म्यानपावर कम्पनीले सय जना, जोर्डनमा ६२ जना, मकाउ ८ जना, माल्दिभ्समा १० जना मरिससमा २५० जना, ओमानमा ३६२ जना र बेलायतमा १ जना मात्र म्यानपावर कम्पनीमार्फत पठाएका छन् ।
फागुनमा १०२ मुलुकमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएकामा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्र कामदार पठाएका छन् ।
फागुनमा ७३२ म्यानपावर कम्पनीले कामदार पठाएको विभागले जनाएको छ ।



