काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ तारिखमा कतारको राजधानी दोहामा हुने भएको छ।
'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' मूल नारासहित आयोजना हुने सम्मेलनलाई 'सहयात्रा' को अवधारणामा अघि बढाइने आयोजकले जनाएको छ ।
विगतका आठ सम्मेलनका निर्णयको कार्यान्वयन समीक्षा गर्दै यसपटक श्रमिकका समस्या समाधानका लागि ठोस कार्ययोजना बनाइने जानकारी दिइयो ।
एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वका नेपाली समुदायको निरन्तर पैरवीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था र आईपीओमा १० प्रतिशत कोटा सुनिश्चित भएको बताए । उनले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, कानुनी सहायता तथा ब्लड मनी संकलनमा मध्यपूर्वका नेपालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष डा. हेमराज शर्माले मध्यपूर्वका श्रमिकका समस्या, सामाजिक सुरक्षा, सुरक्षित श्रम आप्रवासन र श्रमिक अधिकारलाई संस्थाको प्राथमिकतामा राखिने बताए ।
उनले संघका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय संरचनाबीच समन्वय आवश्यक रहेको धारणा राखे । सम्मेलनमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आबद्धता, वैधानिक रेमिट्यान्स, आईपीओ कोटाको कार्यान्वयन, विदेशमा रहेका नेपालीको मतदान अधिकार सामूहिक लगानीका विषयमा छलफल हुनेछ । विदेशमा अलपत्र तथा कानुनी । समस्यामा परेका नेपालीको उद्धारका लागि प्रभावकारी संयन्त्र बनाउने विषय पनि प्राथमिकतामा रहनेछ ।
मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिकको आवाज मुखरित गर्ने साझा मञ्च बनाइने बताए।



