काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो।
त्यहाँ फसेका नेपालीहरू सुरक्षित रहेको ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्याउने तयारी गरिरहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू ब्राजिल हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति बढ्दो छ।
यही प्रलोभनमा परेर कयौं नेपालीले ठूलो धनराशी खर्च र अकल्पनीय पीडा व्यहोर्नुपरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ। साथै दूतावासले मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भएकाले यसरी नहिँड्नसमेत अनुरोध गरेको छ।



