Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अदक्ष श्रमिकको पीडा अन्त्य गर्न भक्तपुरमा ९ करोड लगानीमा ‘एभरेस्ट मल्टी स्किल’ सञ्चालनमा

अदक्ष श्रमिकको पीडा अन्त्य गर्न भक्तपुरमा ९ करोड लगानीमा ‘एभरेस्ट मल्टी स्किल’ सञ्चालनमा

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई सीप प्रदान गर्ने उद्देश्यले भक्तपुरमा अत्याधुनिक प्राविधिक तालिम केन्द्र एभरेस्ट मल्टी स्किल प्रालि सञ्चालनमा आएको छ।

    आइतबार प्राविधिक तालिम केन्द्रको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उद्घाटन गरेका छन्। नेपाली युवाले सीप नहुँदा विदेशमा गएर भोगेका दुःख, हन्डर र न्यून पारिश्रमिकको समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित प्राविधिक तालिम केन्द्र सञ्चालनमा ल्याएको सञ्चालकहरूले बताएका छन्।

    images

    युवालाई शैक्षिक प्रमाणपत्रको साटो हातमा बजारसुहाउँदो सीप दिएर स्वदेशमै आत्मनिर्भर बनाउने र विदेश जानै परे दक्ष श्रमिकका रूपमा मात्र पठाउने लक्ष्य रहेको प्रालिले जनाएको छ।
    प्राविधिक तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै श्रममन्त्री यादवले देशको मुख्य चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सीप र हाल उत्पादन भइरहेको जनशक्तिबीचको ठूलो खाडल रहेको औँल्याए।

    उनले एभरेस्ट मल्टी स्किलको उद्घाटन एउटा भौतिक संरचनाको मात्र नभई युवाको भविष्य निर्माण र रोजगारीका नयाँ सम्भावना खोल्ने अभियानको सुरुवात भएको बताए।

    हाम्रो प्राथमिकता बजारको मागअनुसार सीप विकास, सीपअनुसारको रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हुनुपर्छ। युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ,’ मन्त्री यादवले भने, ‘तालिम केन्द्रको सफलता कति जनालाई तालिम दिइयो भन्ने आधारमा मात्र होइन, कति जनाले रोजगारी पाए, कतिले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा मापन हुनुपर्छ।’

    मन्त्री यादवले युवालाई सीप सिक्न नहिच्किचाउन र इमानदार श्रमको सम्मान गर्न आग्रह गरे। स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि दक्ष, सुरक्षित र मर्यादित श्रमिकका रूपमा स्थापित गर्नु सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे। यसका लागि सरकार, निजी क्षेत्र र तालिम प्रदायक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    विदेशमा अदक्ष श्रमिकको आँसु देखेर जन्मियो संस्था
    एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले विदेशमा नेपाली श्रमिकले भोगेका पीडाले नै यो संस्था जन्माएको बताए। उनी विगत २५ वर्षदेखि मलेसियामा रहेर व्यवसाय गर्दै आएका छन्।

    ‘विदेश जाँदा वा स्वदेशमै पनि हातमा कुनै सीप वा कला छ भने राम्रो तलब र सम्मान पाइन्छ। तर, कुनै सीप नभएका अदक्ष श्रमिकले खाडी र मलेसियामा असाध्यै धेरै दुःख पाएको मैले प्रत्यक्ष देखेको छु,’ अध्यक्ष न्यौपानेले भने, ‘त्यही अदक्ष जनशक्तिलाई अर्धदक्ष र अर्धदक्षलाई पूर्ण दक्ष बनाएर रोजगारीमा पठाउने हाम्रो मुख्य उद्देश्य हो।’

    उनले सीप नसिकी विदेश जाँदा काम सिक्नै वर्षौं लाग्ने र त्यो अवधिमा निकै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। अब कुनै पनि नेपालीले सीपविना विदेश जान नपरोस् भन्ने आफूहरूको चाहना रहेको उनले उल्लेख गरे।

    ९ करोड लगानी, बेलायतबाट मान्यता प्राप्त स्काफोल्डिङ तालिम
    संस्थाका निर्देशक अनन्तराम खतिवडाले नेपाली श्रमिकको अवस्था सुधार्न यो तालिम केन्द्र स्थापना गरिएको बताए। उनले आफूसँग खाडी मुलुकहरू कतार, साउदी अरब, ओमान, कुवेत र बहराइनका ठूला औद्योगिक परियोजना, ग्यास प्लान्ट र गगनचुम्बी भवन निर्माणमा लामो समय काम गरेको अनुभव रहेको बताए।

    ‘मेरो जीवनको लामो औद्योगिक यात्रा, पसिना र अनुभवको जीवित प्रतिबिम्ब हो यो संस्था,’ निर्देशक खतिवडाले भने, ‘खाडीमा काम गर्दा मैले देखेँ, हाम्रा नेपाली दाजुभाइ असाध्यै मिहिनेत गर्नुहुन्छ तर प्राविधिक ज्ञान र सीप नहुँदा उहाँहरूले पाउने सेवासुविधा अत्यन्तै न्यून हुन्छ। त्यही खाडल पुर्न हामीले यो अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र स्वदेशमै खोलेका हौँ।’

    खतिवडाका अनुसार भक्तपुरको ददिकोटमा ५६ हजार ७६० वर्ग फिट क्षेत्रफलमा केन्द्र फैलिएको छ। प्रालिमा हालसम्म ७ करोड रुपैयाँ लगानी भइसकेको छ। थप उपकरण र व्यवस्थापनका लागि २ करोड रुपैयाँ लगानी गर्ने तयारी रहेको छ।

    उनका अनुसार केन्द्रले विशेषगरी स्काफोल्डिङ तालिमलाई प्राथमिकतामा राखेको छ। यसका लागि मात्रै १२ हजार वर्ग फिटको छुट्टै संरचना तयार गरिएको छ।

    ‘हामीले भर्खरै बेलायतको एउटा कम्पनीबाट स्काफोल्डिङ तालिमको अडिट गराएका थियौँ। हाम्रो भौतिक संरचना र मापदण्ड देखेर उहाँहरूले एकै दिनमा सम्बन्धन दिए। यो नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट क्षमताको तालिम केन्द्र हो,’ खतिवडाले दाबी गरे।

    केन्द्रबाट स्काफोल्डिङको तालिम लिएपछि विश्वका जुनसुकै देशमा गएर पनि उच्च पारिश्रमिकमा काम गर्न सकिने उनले बताए।

    एकैपटक २०० जनालाई तालिम र आवासीय सुविधा
    एभरेस्ट मल्टी स्किलले प्रशिक्षार्थीलाई तालिम मात्र नभई बस्ने र खाने सुविधा पनि उपलब्ध गराएको छ। टाढाबाट आउने प्रशिक्षार्थीलाई मर्का नपरोस् भनेर १५० बेडको आवासीय सुविधासहितको होस्टेल सञ्चालनमा ल्याइएको छ।

    ‘हामी एक सिफ्टमा २०० जनालाई तालिम दिन सक्छौँ। कोर्सको प्रकृति हेरेर १५ दिनदेखि ३ महिनासम्मका तालिम सञ्चालन हुन्छन्,’ खतिवडाले भने।

    केन्द्रले स्काफोल्डिङका अतिरिक्त मेसन, कार्पेन्टर, वेल्डर, पेन्टर, केयरगिभर र सेक्युरिटी गार्डजस्ता ३० देखि ४० वटासम्म विभिन्न विषयमा तालिम दिनेछ। हालसम्म अनौपचारिक रूपमा पाँचवटा समूहलाई तालिम दिइसकेको उनले बताए।

    विदेश जान मात्र होइन, स्वदेशमै उद्यमी बन्न पनि तालिम
    निर्देशक खतिवडाले यो तालिम केन्द्र विदेश जान चाहनेका लागि मात्र नभई स्वदेशमै केही गर्न चाहने युवाका लागि पनि उत्तिकै फलदायी रहेको दाबी गरे।

    ‘हामी वैदेशिक रोजगारीमा पठाउन मात्र तालिम दिँदैनौँ, नेपालमै सीप सिकेर केही गर्छु भन्नेका लागि पनि विशेष प्याकेज छ,’ उनले थपे, ‘अहिले नेपालमा ठूला पूर्वाधार बनिरहेका छन्, त्यहाँ पनि जनशक्ति चाहिन्छ। यसबाहेक स्वरोजगार बन्न चाहनेका लागि बारिस्ता, ब्युटिसियन, कुक, बेमौसमी तरकारी खेती, मौरीपालनजस्ता तालिम पनि हामी उपलब्ध गराउँछौँ।’

    स्थानीय र विपन्नलाई ५० प्रतिशतसम्म छुट
    व्यावसायिक तालिम केन्द्र भए पनि संस्थाले सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिएको छ। तालिमको शुल्क बजारको अवस्था र आवासीय सुविधासहितको प्याकेजका आधारमा निर्धारण गरिएको छ।

    स्थानीय बासिन्दा र आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि विशेष छुटको व्यवस्था गरिएको निर्देशक खतिवडाले बताए।
    ‘आर्थिक अवस्था कमजोर भएका र टाढाबाट आउनेहरूलाई हामीले प्राथमिकतामा राखेर आवश्यकता हेरी १० देखि ५० प्रतिशतसम्म शुल्कमा छुट दिने योजना बनाएका छौँ,’ उनले भने।

    सरकारसँग नीतिगत सहयोगको अपेक्षा
    निर्देशक खतिवडाले सरकारसँग प्रतिनिधित्व र नीतिगत सहजीकरणका लागि आग्रह गरे। उनले केन्द्र कुनै म्यानपावर कम्पनी वा व्यवसाय नभएको बताए।

    उनले भने, ‘हामी कुनै म्यानपावर व्यवसायी होइनौँ, हामी देश र विश्व बजारका लागि साइट रेडी दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना हौँ। सरकारले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमहरू, सीटीईभीटीका सम्बन्धन प्रक्रिया र वैदेशिक रोजगार प्रवर्द्धनका विशेष कोटाहरूमा यस्ता गुणस्तरीय संस्थालाई प्राथमिकता र सहकार्यको अवसर दिनुपर्छ।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार