Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एआई विकास र बहसका लागि गम्भीर तयारी गर्न डेमोक्रेटिक उम्मेदवारलाई ओबामाले दिँदै छन् निरन्तर दबाब

एआई विकास र बहसका लागि गम्भीर तयारी गर्न डेमोक्रेटिक उम्मेदवारलाई ओबामाले दिँदै छन् निरन्तर दबाब

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । अमेरिकामा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै डेमोक्रेटिक पार्टीभित्र एआईसम्बन्धी नीति बहस तीव्र बन्दै गएको छ । यस बहसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारको पक्षमा उभिएका छैनन्, तर सम्भावित राष्ट्रपतीय उम्मेदवारहरूसँगको नियमित संवाद र एआई कम्पनीका प्रमुख तथा विज्ञहरूसँगको छलफलमार्फत उनको प्रभाव देखिन थालेको छ।

    सीएनएनका अनुसार सन् २०२८ को राष्ट्रपतीय दौडमा रहेका सम्भावित डेमोक्रेटिक उम्मेदवारहरूले ओबामासँग एआईबारे छलफल गरिरहेका छन् । उनीहरूले एआईका सम्भावित प्रभावबारे अध्ययन भइरहेको र नीति निर्माणको तयारी गरिरहेको बताउने गरेका छन् । तर ओबामाले अहिलेसम्म आफूले सुनेका योजना समस्याको दायराअनुसार पर्याप्त नभएको भन्दै उनीहरूलाई अझ गम्भीर र विस्तृत तयारी गर्न आग्रह गर्दै आएका छन्।

    images

    ओबामाका वरिष्ठ सल्लाहकार एरिक सुल्ट्जका अनुसार पूर्वराष्ट्रपतिले एआई कसरी विकास र प्रयोग हुँदै छ भन्नेबारे ‘तथ्यमा आधारित र सूचनामूलक बहस’ आवश्यक ठानेका छन् । उनका अनुसार एआईले अमेरिकी अर्थतन्त्र र लोकतन्त्रमा पार्ने प्रभाव प्रविधि आफैँले मात्र होइन, सरकारले गर्ने नीतिगत निर्णयले पनि निर्धारण गर्नेछ।

    एआई कम्पनीदेखि राजनीतिज्ञहरूसम्म संवाद

    ह्वाइट हाउस छाडेको एक दशक भइसक्दा पनि ओबामा डेमोक्रेटिक पार्टीका नयाँ पुस्ताका नेताहरूसँग नियमित सम्पर्कमा छन् । सीएनएनका अनुसार उनले क्यालिफोर्निया भ्रमणका क्रममा, वासिङ्टनस्थित कार्यालयबाट तथा टेलिफोनमार्फत एआई क्षेत्रका प्रमुख व्यक्तिहरूसँग छलफल गर्दै आएका छन्।

    उनले ओपनएआईका प्रमुख साम अल्टम्यान तथा गुगल र एन्थ्रोपिकका कार्यकारीहरूसँग पनि कुराकानी गरेका छन्। साथै एआई विज्ञ, अध्येता र पूर्वसहयोगीहरूसँग छलफल गरिरहेका छन्।

    ओबामा एआईसम्बन्धी विषयमा गहिरो अध्ययन गरिरहेका छन् । उनी प्रविधि, रोजगारी, राष्ट्रिय सुरक्षा र गलत सूचना फैलिने जोखिमजस्ता विषयमा केन्द्रित छन् । विशेषगरी बालबालिकामाथि एआईमार्फत फैलिन सक्ने गलत सूचनाको प्रभावबारे उनी चिन्तित रहेको जनाइएको छ।

    यसअघि ओबामाले एआईबारे हल्का शैलीमा टिप्पणी गर्ने गरेका थिए । तर पछिल्ला वर्षहरूमा उनले प्रविधिको तीव्र विकासको तुलनामा सरकार र समाज त्यसको परिणाम सामना गर्न पर्याप्त तयार नभएको धारणा व्यक्त गर्दै आएका छन्।

    सेप्टेम्बरमा कोलगेट विश्वविद्यालयमा आयोजित कार्यक्रममा उनले क्यान्सर उपचार वा ऊर्जा क्षेत्रमा प्रगति गर्न एआई प्रयोग गर्न सकिने भए पनि इन्टरनेटमा स्वतन्त्र रूपमा चल्ने ‘एजेन्टिक एआई’ आवश्यक नहुने बताएका थिए । उनको भनाइमा प्रविधिको तीव्र विस्तारमा व्यावसायिक स्वार्थको भूमिका पनि महत्त्वपूर्ण छ।

    ‘गम्भीर नियामक ढाँचा’ आवश्यक

    ओबामाले एआईका लागि सङ्घीय सरकारले गम्भीर नियामक प्रणाली बनाउनुपर्ने धारणा राखेका छन् । उनले खाद्य पदार्थ वा हवाई यातायातका क्षेत्रमा सरकारले मापदण्ड निर्धारण गरेजस्तै एआईका लागि पनि स्पष्ट नियम आवश्यक रहेको बताएका छन्।

    तर उनले सन् २०२८ का सम्भावित उम्मेदवारलाई हस्ताक्षर गराउन कुनै निश्चित एआई नीति वा विधेयक अघि सारेका छैनन् । उनको जोड एआईको प्रभावबारे स्पष्ट बुझाइ विकास गर्न र नीति निर्माणका लागि तयारी गर्नमा रहेको छ।

    यसबीच रिपब्लिकन पक्षमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एआईको व्यापक सङ्घीय नियमनप्रति फरक दृष्टिकोण राखेको छ । ट्रम्पले सेप्टेम्बर २९ मा एआई कम्पनीका प्रमुखहरूलाई ह्वाइट हाउसमा बोलाएर कम्पनीहरूले आफ्ना एआई मोडलको ‘सेल्फ–पोलिसिङ’ सुधार गर्ने प्रतिबद्धताबारे छलफल गरेका थिए । ट्रम्पले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ भन्ने शब्द प्रयोग गर्ने कार्यकारी आदेश ल्याउने सङ्केत पनि दिएका छन्।

    डेमोक्रेटहरूका लागि एआई राजनीतिक जोखिम पनि

    डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवारहरूका लागि एआई नीति केवल प्राविधिक वा आर्थिक विषयमा सीमित छैन। एआई उद्योगले राजनीतिमा ठूलो रकम खर्च गर्न थालेकाले उनीहरू सावधानीपूर्वक अघि बढिरहेका छन्।

    एडइम्प्याक्टको तथ्याङ्कअनुसार, एआई उद्योगसँग सम्बन्धित बाह्य समूहहरूले सन् २०२६ का निर्वाचनमा करिब ५ करोड डलर खर्च गरेर विभिन्न विज्ञापन अभियान चलाएका छन् । सङ्घीय निर्वाचन आयोगका विवरणअनुसार एआईसँग सम्बन्धित केही प्रमुख पीएसी (अमेरिकामा निर्वाचनमा खर्च जुटाउने ‘पोलिटिकल एक्सन कमिटी’) र अन्य गैरनाफामूलक संस्थाहरूले यस निर्वाचन प्रक्रियाका क्रममा उल्लेख्य रकम सङ्कलन गरेका छन्।

    न्युयोर्कका विधानसभा सदस्य एलेक्स बोरेस एआई नियमनका पक्षमा सक्रिय रहेपछि उनीसँग सम्बन्धित चुनावमा एआईसम्बद्ध पीएसीबाट ठूलो रकम खर्च भएको थियो । उनका अनुसार सन् २०२८ का सम्भावित उम्मेदवार र उनीहरूका सल्लाहकारहरूले एआई उद्योगको चुनावी खर्चबारे चासो व्यक्त गर्ने गरेका छन्।

    यसले डेमोक्रेटिक नेताहरूलाई दुईतर्फी चुनौती दिएको छ । एकातिर एआई कम्पनीबाट प्रभावित भएको नदेखिनुपर्ने बाध्यता छ भने अर्कोतिर अत्यधिक कडा नियमनको पक्षमा उभिँदा उद्योगबाट ठूलो चुनावी खर्च (चन्दा) नआउने जोखिम पनि छ।

    रोजगारीदेखि डेटा सेन्टरसम्म बहस

    फेडरल ट्रेड कमिसन (एफटीसी) की पूर्वअध्यक्ष लिना खानले भने एआईबारे बहसलाई मानव अस्तित्व समाप्त हुने सम्भावनाजस्ता अत्यन्त अमूर्त प्रश्नमा मात्र सीमित गर्न नहुने बताएकी छन् । उनका अनुसार अमेरिकी नागरिकले अहिले डेटा सेन्टरका कारण बढ्न सक्ने पानी र विद्युत् खर्च तथा एआई च्याटबटबाट दैनिक सेवामा उत्पन्न हुने समस्याजस्ता प्रत्यक्ष प्रभाव महसुस गरिरहेका छन्।

    पूर्ववाणिज्यमन्त्री (वाणिज्य सचिव) जिना राइमन्डोले भने एआई अर्थतन्त्रमा श्रमिकलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा जोड दिएकी छन् । उनले भविष्यमा अमेरिकामा कस्तो अर्थतन्त्र निर्माण हुने र एआईको समयमा अमेरिकी श्रमिकले राम्रो रोजगारी कसरी पाउने भन्नेबारे उम्मेदवारहरूले अग्रिम योजना बनाउनुपर्ने बताएकी छन्।

    सेनेटर मार्क केलीले पनि एआईका कारण रोजगारीमा आउन सक्ने परिवर्तनलाई सम्बोधन गर्ने विधेयक अघि सारेका छन् । उनले एआई कम्पनीबाट रकम लिएर बढ्दो विद्युत् खर्च, पूर्वाधार र सुरक्षा उपायमा लगानी गर्ने प्रस्तावसहितको मार्गचित्र (रोडम्याप) समेत सार्वजनिक गरेका छन्।

    यसरी डेमोक्रेटिक पार्टीभित्र एआई बहस अहिले नियमन, रोजगारी, राष्ट्रिय सुरक्षा, डेटा सेन्टर, ऊर्जा लागत, गलत सूचना र राजनीतिक चन्दासम्म फैलिएको छ । यस बहसमा ओबामाले कुनै एउटै नीति थोपरेका छैनन्, तर सम्भावित उम्मेदवारहरूलाई एआईको तीव्र परिवर्तन र त्यसको राजनीतिक प्रभावका लागि अहिलेभन्दा गम्भीर तयारी गर्न निरन्तर दबाब दिइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार