Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबई–तेलअभिभ उडान आक्रमणमा अहिले नै दोषी किटान गर्न हतार हुन्छ : नेतान्याहु

दुबई–तेलअभिभ उडान आक्रमणमा अहिले नै दोषी किटान गर्न हतार हुन्छ : नेतान्याहु

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको खुलिसकेको छ । तर यस घटनामा कसको संलग्नता थियो भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न हतार हुने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।

    अमेरिकी समाचार संस्था फक्स न्युजसँग कुराकानीमा घटनामा इरानको संलग्नताको विषयबारे सोधिएको प्रश्नमा पनि उनले ‘अहिले नै भन्नु हतार हुन्छ’ भन्ने जवाफ दिएका छन्।

    images

    नेतान्याहुका अनुसार आक्रमण गर्ने पाइलटलाई विमानले साउदी अरबको उत्तरपश्चिमी तबुकमा आपत्कालीन अवतरण गरेपछि त्यहाँ पक्राउ गरिएको छ । उनको अनुसन्धान साउदी अधिकारीहरूले गरिरहेका छन् । उनलाई विमान उडेको मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) लगिने अपेक्षा गरिएको पनि नेतान्याहुले बताए । ‘हामी यो अनुसन्धानलाई नजिकबाट नियालिरहेका छौँ र सम्भवतः अनुसन्धानमा सहभागी पनि हुनेछौँ,’ उनले भनेका छन्।

    ककपिटमै पाइलटमाथि चक्कु प्रहार

    फ्लाईदुबईको उडान एफजेड १०७३ बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः०५ बजे तेलअभिभका लागि उडेको थियो । विमानमा चालक दलसहित १७४ जना सवार थिए । उडान सुरु भएको करिब साढे दुई घण्टापछि विमानले साउदी अरबमाथि अचानक तीव्र रूपमा उचाइ घटाएको थियो । उडान अनुगमन वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले दुई मिनेटभन्दा कम समयमा १७ हजार फिट अर्थात् करिब ५ हजार २०० मिटर उचाइ गुमाएको थियो।

    त्यसपछि विमानले सामान्य आपत्कालीन संकेत स्वाइक ७७०० प्रसारण गरेको थियो । केही मिनेटपछि त्यसलाई स्वाइक  ७५०० मा परिवर्तन गरिएको थियो, जुन विमान अपहरण भएको संकेतका रूपमा प्रयोग हुन्छ।

    विमान केही समयपछि तेलअभिभतर्फको मार्ग छाडेर साउदी अरबतर्फ फर्किएको थियो । करिब २० मिनेटपछि उसले तबुकतर्फ मोडिएर अवतरण गरेको थियो।

    सुरुवाती सञ्चारमाध्यमका रिपोर्टमा दुई पाइलटबीच ककपिटमा झगडा भएको र त्यसका कारण विमानले तीव्र रूपमा उचाइ गुमाएको उल्लेख गरिएको थियो । तर विमान तबुकमा अवतरण गरेपछि यात्रुका बयान र नेतान्याहुको भनाइबाट घटना अझ गम्भीर रहेको खुलेको हो।

    नेतान्याहुका अनुसार एक पाइलटले अर्का पाइलटलाई चक्कु प्रहार गरेका थिए र त्यसपछि विमानलाई सम्भवतः दुर्घटनाग्रस्त गराउने प्रयास गरेका थिए।

    इरानको संलग्नताबारे कुनै निष्कर्ष छैन

    घटनापछि इजरायलमा सुरक्षा चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुसँग घटनाबारे कुराकानी गरेको बताएका छन् । उनका अनुसार आक्रमणकारी ‘सायद आतंकवादी’ हुन सक्ने वा घटनाको अन्य कारण हुन सक्ने देखिन्छ।

    इजरायली रक्षामन्त्री इजरायल काट्जले भने घटनालाई ‘जिहादी आतंकवादी हमलाको प्रयास’ भनेका छन् । तर उनले आफ्नो दाबीका आधारबारे विस्तृत जानकारी दिएका छैनन्।

    प्रधानमन्त्री नेतान्याहुले भने घटनाको उद्देश्य वा आक्रमणकारीको सम्भावित संगठनबारे कुनै निष्कर्ष दिएका छैनन्। उनले इरानको संलग्नताबारे पनि अनुसन्धान पूरा नभएसम्म केही भन्न नसकिने स्पष्ट पारेका छन्।

    उनले अमेरिकी समाचार संस्था सीएनएनसँग इजरायलसँग यस घटनाबारे कुनै पूर्वसूचना वा अग्रिम गुप्तचर जानकारी नरहेको पनि बताएका छन्।

    विमान सुरक्षित रूपमा तेलअभिभ फर्कियो

    तबुकमा आपत्कालीन अवतरण गराइएको विमानका यात्रुलाई पछि अर्को उडानमार्फत तेलअभिभ ल्याइएको थियो। उनीहरू बुधबार साँझ करिब ६ः४० बजे स्थानीय समयअनुसार बेन गुरियन विमानस्थल पुगेका थिए।

    विमानस्थलमा उनीहरूका परिवार तथा आफन्तसहित ठूलो संख्यामा मानिस भेला भएका थिए । केहीले इजरायली झन्डा बोकेका थिए भने संगीत बजाउँदै यात्रुको स्वागत गरिएको थियो।

    इजरायलको एम्बुलेन्स सेवाका एक स्वास्थ्यकर्मीका अनुसार केही यात्रु विमानबाट ओर्लँदा अत्यन्त भावुक देखिएका थिए र कतिपय रोइरहेका थिए।

    घटनापछि इजरायल र साउदी अरबका वायु सेनाले लडाकु विमानसमेत परिचालन गरेका थिए । नेतान्याहुले तत्काल सुरक्षा अधिकारीहरूसँग आपत्कालीन छलफल गरेका थिए । नेतान्याहुले घटनालाई ‘अत्यन्त गम्भीर सुरक्षा घटना’ भन्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न इजरायली सुरक्षा निकायले सम्बन्धित अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताएका छन्।

    फ्लाईदुबईले घटनाको आधिकारिक अनुसन्धानमा सहयोग गर्ने र यात्रु तथा चालक दलको सुरक्षा, स्वास्थ्य तथा कल्याण आफ्नो तत्काल प्राथमिकता रहेको जनाएको छ।

    घटनामा विमानभित्र वास्तवमा के कारणले आक्रमण भयो, आक्रमणकारीको उद्देश्य के थियो र कुनै व्यक्ति वा संगठनसँग उनको सम्बन्ध थियो कि थिएन भन्ने विषयमा साउदी अरब र यूएईका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार