काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको तीनदिने अमेरिका भ्रमणका क्रममा दुई देशबिच ८ बुँदे सहमति भएको छ । द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने उद्देश्यसहित ८ बुँदे सहमति भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुँदामा पारस्परिक सम्मान, निष्पक्षता र पारस्परिकतामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख छ।
चिनियाँ पक्षले यसलाई दुई देशबिचको सम्बन्धका लागि नयाँ रणनीतिक आधारका रूपमा व्याख्या गरेको छ।
चीनका विदेशमन्त्री वाङ यीले सम्बन्धमा ‘सम्मान’ भन्नाले एकअर्काको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक व्यवस्था, विकासको बाटो तथा मूलभूत हित र प्रमुख चासोको सम्मान गर्नु रहेको बताएका छन्।
एपीईसी र जी–२० मा सहकार्य
सहमतिको दोस्रो बुँदाअनुसार चीनले नोभेम्बरमा आयोजना गर्ने एपीईसी आर्थिक नेताहरूको बैठक र अमेरिकाले डिसेम्बरमा आयोजना गर्ने जी–२० शिखर सम्मेलन सफल बनाउन दुवै पक्षले एक अर्कालाई सहयोग गर्ने भएका छन्। दुवै नेताले एकअर्काले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन्।
त्यस्तै, तेस्रो बुँदामा इरानले आणविक हतियार विकास नगर्ने आफ्नो प्रतिबद्धता पालना गर्नुपर्नेमा दुवै नेता सहमत भएका छन् । साथै, अन्तर्राष्ट्रिय जलमार्गबाट आवतजावत गरेबापत कुनै देश वा संस्थाले पारवहन शुल्क लिन नहुने सहमति भएको छ।
व्यापारमा ३० अर्ब डलरको पारस्परिक कर कटौती
आर्थिक तथा व्यापारिक क्षेत्रमा दुवै पक्षले पछिल्ला वार्ताबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने सहमति गरेका छन्। यसमा व्यापार परिषद् जस्ता संयन्त्र स्थापना तथा विस्तार, ३० अर्ब अमेरिकी डलर बराबरको पारस्परिक कर कटौती व्यवस्था र क्वालालम्पुरमा भएका आर्थिक तथा व्यापारिक वार्ताका सहमति विस्तार गर्नेलगायतका विषय छन्।
यसअघि सेप्टेम्बर २० मा न्यूयोर्कमा चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक प्रतिनिधिबिच पनि वार्ता भएको थियो। त्यसमा द्विपक्षीय व्यापार तथा लगानीसँग सम्बन्धित विषयमा छलफल भएको थियो।
लागु औषध नियन्त्रणमा संयुक्त कारबाही
छैटौँ बुँदामा चीन र अमेरिकाबिचको लागु औषध नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन सहकार्यलाई निरन्तरता दिने विषय छ । दुवै देशका निकायले हालै नयाँ प्रकारका मनोसक्रिय पदार्थ तथा तिनका पूर्वरसायनसँग सम्बन्धित विभिन्न मुद्दामा संयुक्त अनुसन्धान गरी दुवै देशमा दर्जनौँ संदिग्धलाई पक्राउ गरेको चिनियाँ पक्षले जनाएको छ।
एआईमा नयाँ संवाद संयन्त्र
एआई सम्बन्धी विषयमा पनि चीन र अमेरिका नयाँ संवाद संयन्त्र स्थापना गर्न सहमत भएका छन् । यसमार्फत एआईका जोखिम र सम्भावित लाभबारे छलफल गरिनेछ । यसको अर्को चरणको संवाद नोभेम्बरमा हुने र एआईसँग सम्बन्धित आकस्मिक घटनाबारे दुई देशबीच प्रत्यक्ष सम्पर्कका लागि छुट्टै सञ्चार माध्यम स्थापना गरिने सहमतिमा उल्लेख छ।
त्यसैगरि, आठौँ सहमतिअन्तर्गत अमेरिकाको एटलान्टा चिडियाखानामा चीनले भाडामा दिने दुईवटा जायन्ट पाण्डा पुग्न लागेकोमा अमेरिकी पक्षले स्वागत गरेको छ।
दोस्रो विश्वयुद्धको सहकार्य सम्झना
सहमतिको चौथो बुँदामा चीन र अमेरिका दोस्रो विश्वयुद्धका बेला सहयोगी राष्ट्र रहेको इतिहासलाई दुवै नेताले स्मरण गरेका छन् । चीनको विदेश मन्त्रालयका अनुसार यस वर्ष टोकियो ट्रायल सुरु भएको ८० वर्ष पुगेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा चीन र अमेरिकाले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण तथा सैन्यवादको पुनरुत्थान रोक्न साझा जिम्मेवारी वहन गर्ने चिनियाँ पक्षको भनाइ छ।
यसैबीच, आठबुँदे सहमतिबाहेक चीन र अमेरिकी सेनाले संकटको अवस्थामा सञ्चार र संकट रोकथामलाई बलियो बनाउने समझदारीपत्र (एमओयू) छिट्टै हस्ताक्षर गर्ने सहमति गरेका छन् । चीनमा बेपत्ता अमेरिकी सैनिकका अवशेष खोजीसम्बन्धी सहकार्यलाई पनि निरन्तरता दिने सहमति भएको छ।
चिनियाँ पक्षका अनुसार सीको अमेरिका भ्रमणले दुई देशबिचको सम्बन्धलाई ‘रणनीतिक स्थिरता’तर्फ लैजान संवाद, व्यापार, सुरक्षा, एआई र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका केही व्यावहारिक आधार तय गरेको छ।



