। चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ताइवानलाई हतियार बिक्री रोक्न आग्रह गर्ने सम्भावना देखिएको छ । यस विषयमा जानकारी भएका स्रोतहरूका अनुसार, चिनियाँ राष्ट्रपति सीले सन् १९८२ मा अमेरिका र चीनबिच भएको संयुक्त वक्तव्यको आधारमा यस्तो माग राख्न सक्छन्।
सीले वासिङ्टनस्थित अमेरिकी राष्ट्रिय अभिलेखालयको भ्रमणका क्रममा पनि यो विषय उठाउन सक्ने स्रोतहरूले बताएका छन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ र ताइवानको विषयलाई आफ्नो सबैभन्दा संवेदनशील तथा महत्त्वपूर्ण कूटनीतिक मुद्दाका रूपमा हेर्छ । अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्न बन्द गर्नुपर्ने माग लामो समयदेखि चीनले राख्दै आएको छ।
अमेरिकासँग औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकी कानुनअनुसार लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो रक्षा गर्न आवश्यक साधन उपलब्ध गराउने व्यवस्था छ । यता, ताइवानले आफू चीनको अधीनमा रहेको बेइजिङको दाबी अस्वीकार गर्दै आएको छ।
सन १९८२ को संयुक्त वक्तव्यको व्याख्या
चिनियाँ राष्ट्रपति सीको वासिङ्टन भ्रमणअघि अमेरिका र चीनबिच भइरहेका छलफलसँग परिचित स्रोतले रोयटर्सलाई बताएअनुसार, चीनले सन १९८२ मा दुई देशबिच हस्ताक्षर भएको तीन वटा ‘संयुक्त विज्ञप्ति’मध्ये तेस्रो विज्ञप्तिको आफ्नो व्याख्या अघि सार्ने सम्भावना छ।
उक्त विज्ञप्तिमा अमेरिकाले ताइवानलाई गरिने हतियार बिक्री क्रमशः घटाउँदै लैजाने र ताइपेईलाई दीर्घकालीन रूपमा हतियार बिक्री गर्ने आफ्नो उद्देश्य नरहेको उल्लेख थियो।
तर, त्यसैसँग जारी गरिएको एउटा छुट्टै ज्ञापनमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले हतियार बिक्री घटाउने अमेरिकी इच्छा ताइवानसँगको विवाद शान्तिपूर्ण रूपमा समाधान गर्ने चीनको निरन्तर प्रतिबद्धतामा पूर्ण रूपमा निर्भर रहने बताएका थिए।
पछिल्ला पाँच वर्षमा चीनले ताइवान वरिपरि आफ्नो सैन्य गतिविधि निकै बढाएको छ । यस क्रममा वास्तविक क्षेप्यास्त्र प्रहारसहितका सैन्य अभ्याससमेत गरिएका छन् । चिनियाँ सेनाले लगभग दैनिक रूपमा ताइवान वरिपरि सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ।
चिनियाँ विदेश मन्त्रालयसँग यसबारे जिज्ञासा राख्दा कुनै जबाफ नदिएको रोयटर्सले जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले मंगलबार ताइवानको मुद्दालाई गलत ढंगले व्यवस्थापन गरिएमा चीन–अमेरिका सम्बन्ध ‘अत्यन्त खतरनाक अवस्थातर्फ’ जान सक्ने चेतावनी दिएको छ।
चिनियाँ राष्ट्रपति सी बुधबार वासिङ्टन पुग्नेछन् । ट्रम्प र सीबिचको औपचारिक वार्ता बिहीबार हुनेछ भने शुक्रबार सीले राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, ट्रम्पले ताइवानका लागि प्रस्तावित नयाँ हतियार बिक्री प्याकेजबारे चाँडै निर्णय गर्ने बताएका छन् । ती अधिकारीका अनुसार, ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अन्य कुनै पनि अमेरिकी राष्ट्रपतिभन्दा बढी हतियार ताइवानलाई बिक्री गर्न स्वीकृति दिएका थिए । दोस्रो कार्यकालको पहिलो वर्षमै उनले राष्ट्रपति जो बाइडेनको चार वर्षको कार्यकालभरि स्वीकृत गरिएको भन्दा बढी हतियार बिक्री स्वीकृत गरिसकेका छन्।
ताइवानको विदेश मन्त्रालयले अमेरिका–चीन उच्चस्तरीय वार्तामा भइरहेका घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको जनाएको छ । साथै, अमेरिकासँग ‘बलियो सञ्चार र समन्वय’ कायम राखिरहेको पनि बताएको छ।
ताइवानलाई यसअघि नै आदेश गरिएका हतियार पनि रोक्न चीनको माग
सम्बद्ध स्रोतहरूका अनुसार, चीनले ताइवानले यसअघि नै अर्डर गरिसकेका अमेरिकी हतियारहरूको आपूर्ति पनि रोक्न अमेरिकासँग माग गरेको छ।
एक स्रोतका अनुसार, सीले ट्रम्पलाई ताइवान नै अमेरिका–चीन सम्बन्धमा अस्थिरता निम्त्याउने मुख्य कारण र उक्साउने पक्ष भएको तथा ताइवानले नै वर्तमान अवस्थालाई परिवर्तन गरिरहेको चीनको धारणा स्पष्ट रूपमा बताउन सक्छन्।
स्रोतहरूका अनुसार, यसको बदलामा चीनले मध्यपूर्वमा जारी युद्धका क्रममा इरानमाथि दबाब बढाउन अमेरिकालाई सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । अमेरिकाले ‘एक चीन नीति’ अपनाएको छ । यसको अर्थ अमेरिकाले ताइवानको सार्वभौमसत्ताबारे औपचारिक रूपमा कुनै पक्ष लिँदैन । साथै, ताइवान चीनको हिस्सा हो भन्ने बेइजिङको दाबीलाई अमेरिका स्वीकार गर्छ, तर त्यसलाई समर्थन वा अनुमोदन गर्दैन।
ट्रम्प प्रशासनले डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्री प्याकेज स्वीकृत गरेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठुलो प्याकेज हो, तर करिब १४ अर्ब डलर बराबरको अर्काे हतियार बिक्री प्याकेज भने महिनौँदेखि रोकिएको छ।
मे महिनामा बेइजिङमा सी जिनपिङसँग भएको भेटपछि ट्रम्पले उक्त प्याकेजलाई तत्काल अघि नबढाउने बताएका थिए । उनले त्यसलाई ‘धेरै राम्रो वार्ताको हतियार’ अर्थात् चीनसँगको वार्तामा प्रयोग गर्न सकिने महत्त्वपूर्ण दबाबको साधनका रूपमा वर्णन गरेका थिए।
सन १९८२ मै जारी गरिएको तर सन् २०२० मा मात्र सार्वजनिक गरिएको ‘सिक्स एस्युरेन्सेस’ अन्तर्गत अमेरिकाले ताइवानलाई हतियार बिक्री कहिले अन्त्य गर्ने भनेर कुनै मिति तोकेको छैन । साथै, हतियार बिक्री गर्नुअघि चीनसँग परामर्श गर्ने सहमति पनि अमेरिकाले गरेको छैन।
यसैबिच, ट्रम्प र सीबिचको शिखर वार्ताअघि अमेरिकी रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूले ताइवानप्रति आफ्नो समर्थन दोहोर्याइरहेका छन् । पूर्वी एसियासम्बन्धी अमेरिकी सिनेटको विदेश सम्बन्ध उपसमितिका रिपब्लिकन अध्यक्ष पीट रिकेट्सले गत साता हड्सन इन्स्टिच्युटमा आयोजित कार्यक्रममा ट्रम्पले ताइवानको विषयमा कडा अडान लिनुपर्ने बताएका थिए।
उनका अनुसार, अमेरिकाले चीनलाई ताइवानमाथि बल प्रयोग गरेर कब्जा गर्न नदिइने कुरा स्पष्ट गरिरहनुपर्छ र ताइवानलाई दिइँदै आएको अमेरिकी समर्थन जारी रहनुपर्छ।
त्यस्तै, चीनसम्बन्धी अमेरिकी प्रतिनिधिसभाको विशेष समितिका रिपब्लिकन अध्यक्ष जोन मोलिनारले शुक्रबार ट्रम्पलाई पठाएको पत्रमा ताइवान र एसियाका अमेरिकी साझेदार देशहरूको सन्दर्भमा चीनले अमेरिकी हतियार बिक्री र सुरक्षा सहकार्यप्रति गर्ने आपत्तिलाई सिधै अस्वीकार गर्नुपर्ने बताएका छन्।
शनिबार ताइपेईमा आयोजित एक रक्षा सम्मेलनमा ट्रम्पको पहिलो कार्यकालका उपराष्ट्रिय सुरक्षा सल्लाहकार म्याट पोटिङ्गरले यस साता हुने अमेरिका–चीन वार्तामा ताइवानको विषयमा कुनै ठोस निर्णय वा परिवर्तन हुने आफूलाई अपेक्षा नरहेको बताए।



