Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकामा पहिलो पटक ६ डलरमाथि उक्लियो डिजेलको भाउ

अमेरिकामा पहिलो पटक ६ डलरमाथि उक्लियो डिजेलको भाउ

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । विश्व अर्थतन्त्रलाई चलायमान राख्ने प्रमुख इन्धनमध्ये एक डिजेलको मूल्य अमेरिकामा पहिलोपटक प्रतिग्यालन ६ डलरमाथि उक्लिएको छ । शुक्रबार अमेरिकी बजारमा डिजेलको औसत मूल्य प्रतिग्यालन ६ डलर शून्य ६ सेन्टमा पुगेको छ । पछिल्लो एक सातामै यसको मूल्य ८ सेन्टले बढेको छ।

    अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए)को पछिल्लो तथ्यांकअनुसार डिजेलको राष्ट्रिय औसत मूल्य ६ डलर शून्य ६ डलर प्रतिग्यालन पुगेको छ । गत शुक्रबार डिजेलको मूल्यले यसअघि कायम रहेको रेकर्ड तोडेको थियो । सन् २०२२ को जुनमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि डिजेलको मूल्य प्रतिग्यालोन ५ डलर ८२ सेन्टसम्म पुगेको थियो।

    images

    इरानसँगको युद्ध सुरु भएयता डिजेलको मूल्य ५५ प्रतिशतभन्दा बढीले बढिसकेको छ । यही अवधिमा पेट्रोलको मूल्य भने करिब ४० प्रतिशतले बढेको छ । सीएनएनले एएएको तथ्यांकको समीक्षा गर्दा डिजेलको मूल्यमा भएको यो वृद्धि वार्षिक आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिशत वृद्धि हुने दिशामा रहेको जनाएको छ । डिजेलको मूल्य वृद्धिको मुख्य कारण दुईवटा छन् । पहिलो, अमेरिका र इरानबीचको युद्ध लम्बिँदै जाँदा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्नु अनि दोस्रो, त्यो कच्चा तेललाई डिजेललगायत इन्धनमा परिणत गर्ने पर्याप्त रिफाइनरी सञ्चालनमा नहुन्।

    युद्धका कारण पश्चिम एशिया र रुसका केही रिफाइनरी प्रभावित भएका छन् । डिजेलको प्रमुख आपूर्तिकर्तामध्ये एक रुसले आफ्नै देशमा इन्धन अभाव हुन नदिन निर्यात सीमित गरेको  छ। चीनले पनि घरेलु बजारमा अभाव हुन नदिन डिजेललगायत इन्धनको निर्यातमा प्रतिबन्ध वा सीमा लगाएको छ । तेल उद्योगसँग सम्बन्धित विज्ञहरूका अनुसार रिफाइनरीहरूले अहिले नै डिजेल उत्पादनलाई अधिकतम स्तरमा पुर्‍याइसकेका छन् । ‘रिफाइनरीहरूले पहिले नै डिजेल उत्पादनलाई सक्दो उच्च स्तरमा पुर्यासकेका छन् । हामीले यो प्रणालीबाट थप डिजेल निकाल्न सक्ने अवस्था छैन,’ एक विज्ञले भने।

    इन्धनको मूल्य बढ्दा सामान्यतया पेट्रोलको मूल्यलाई बढी ध्यान दिइन्छ । तर अमेरिकाका सडकमा चल्ने यात्रुवाहक कारमध्ये करिब ३ प्रतिशत मात्रै डिजेलबाट चल्छन् । डिजेल भने ट्रक, ट्र्याक्टर, मालवाहक रेल, पानीजहाज तथा निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनका लागि प्रमुख इन्धन हो । अमेरिकामा चल्ने अधिकांश ठूला ट्रक र मालवाहक रेल डिजेलबाट सञ्चालन हुन्छन् । यी माध्यमबाट अमेरिकी उपभोक्ताले घरका लागि खरिद गर्ने अधिकांश सामान ढुवानी हुन्छन्।

    ठूला ट्रकिङ कम्पनी र मालवाहक रेल कम्पनीहरूले इन्धनको मूल्य बढ्दा त्यसको अतिरिक्त खर्च आफ्ना ग्राहक अर्थात् खुद्रा विक्रेता र उत्पादक कम्पनीबाट असुल्ने गर्छन् । यसका लागि उनीहरूले ‘फ्युल सरचार्ज’ थप्छन् । त्यसपछि ती व्यवसायले पनि आफ्नो लागत पूर्ति गर्न सामानको मूल्य बढाउन सक्छन् । यसको अर्थ डिजेलको मूल्यमा भएको वृद्धि अन्ततः उपभोक्ताले खरिद गर्ने खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्सदेखि अन्य दैनिक उपभोग्य वस्तुसम्मको मूल्यमा देखिन सक्छ।

    क्यालिफोर्नियामा डिजेल ८ डलर पुग्ने चेतावनी

    अमेरिकाको पश्चिमी तटमा डिजेलको मूल्य अझ महँगो छ । क्यालिफोर्नियामा डिजेलको औसत मूल्य प्रतिग्यालोन ७ डलर ९८ सेन्ट पुगिसकेको छ । देशका प्रमुख बन्दरगाह लस एन्जलस र लङ बिचमा अब चाडपर्व तथा बिदाको किनमेलका लागि ठूलो मात्रामा कन्टेनर आउने तयारी छ । ती सामान बन्दरगाहबाट खुद्रा पसलसम्म पुर्‍याउन यस वर्ष थप महँगो पर्नेछ । त्यसको केही हिस्सा उपभोक्तामाथि नै पर्न सक्ने देखिन्छ।

    ग्यासबडीका पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानले क्यालिफोर्नियामा डिजेलको मूल्य प्रतिग्यालोन ८ डलरभन्दा पनि माथि जान सक्ने बताएका छन् । ‘क्यालिफोर्नियामा डिजेलको मूल्य ८ डलरभन्दा माथि जान सक्छ। केही पेट्रोल पम्पका डिस्प्लेले अब आउने सम्भावित मूल्य देखाउन सक्ने गरी बनाइएका समेत छैनन्,’ उनले भने।

    कृषिमा पनि बढ्नेछ लागत

    डिजेलको मूल्य वृद्धि अमेरिकामा शरद ऋतुको बाली भित्र्याउने समय सुरु भइरहेका बेला भएको छ । कृषि उपकरण सञ्चालनमा डिजेलको ठूलो प्रयोग हुने भएकाले इन्धन महँगिँदा किसानको उत्पादन लागत पनि बढ्नेछ । उत्पादन लागत बढेपछि त्यसको असर खाद्यान्नको मूल्यमा समेत पर्न सक्ने चिन्ता छ।

    गोल्डम्यान स्याक्सले सोमबार आफ्ना ग्राहकलाई विश्व बजारमा खाद्यान्नको मूल्य तीव्र रूपमा बढ्ने जोखिम रहेको चेतावनी दिएको थियो । बैंकले यसको कारणका रूपमा स्ट्रेट अफ होर्मुजमा देखिएको संकटका कारण डिजेल र मलको मूल्य बढ्नु, ब्ल्याक सीमा देखिएको तनावका कारण विश्वव्यापी अन्न व्यापारमा परेको जोखिम तथा एल निनोका कारण खडेरी र अत्यधिक गर्मीको सम्भावनालाई औंल्याएको छ।

    डिजेल र जाडोयाममा घर तताउन प्रयोग हुने ‘हिटिङ आयल’ लगभग उस्तै इन्धन हुन् । अमेरिकामा करिब ५० लाख घरमा घर तताउन हिटिङ आयल प्रयोग हुन्छ। त्यसमध्ये अधिकांश घर उत्तरपूर्वी क्षेत्रमा छन् । मेन राज्यमा मात्रै करिब आधा घरमा घर तताउन यही इन्धन प्रयोग हुने बताइएको छ । इन्धन बजार विश्लेषकका अनुसार हिटिङ आयल प्रयोग गर्ने उपभोक्ताले यो मौसममा पहिलोपटक इन्धन आपूर्ति लिँदा ठूलो मूल्यवृद्धिको सामना गर्नुपर्नेछ । ‘घरमा हिटिङ आयल प्रयोग गर्ने उपभोक्ताले यो मौसमको पहिलो आपूर्ति लिँदा ठूलो मूल्य झट्का महसुस गर्नेछन्,’ एक विज्ञले भने।

    विश्व बजारमा बिहिबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०७ डलर ६३ सेन्टमा कारोबार बन्द भएको थियो । त्यसैले अमेरिकामा डिजेलको औसत मूल्य अझै बढ्न सक्ने र प्रतिग्यालोन ७ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। ब्राउन विश्वविद्यालयको वाट्सन स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सले सञ्चालन गरेको लागत ट्र्याकरका अनुसार इरानसँग युद्ध सुरु भएयता डिजेलको मूल्यवृद्धिले अमेरिकी उपभोक्तालाई ४६ अर्ब डलरभन्दा बढी अतिरिक्त लागत पारिसकेको छ ।  यसको अर्थ अमेरिकी परिवारले औसतमा ३५० डलरभन्दा बढी अतिरिक्त खर्च बेहोर्नुपरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार