काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा रहेको एक बन्दरगाहमा मालवाहक जहाजमा भीषण आगलागी हुँदा ठुलो मानवीय क्षति भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको जहाज विदेशी झन्डा बोकेको मालवाहक जहाज रहेको बताइएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार छिङदाओ सहरस्थित एक सिपयार्डमा मर्मतका लागि राखिएको जहाजमा स्थानीय समयअनुसार बिहान ११ः १५ बजे आगलागी भएको हो । आगलागी पछि जहाजमा रहेका केही मानिस फसेको बताइएको छ।
घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले घटनाको शीघ्र अनुसन्धान गर्न समेत निर्देशन दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
प्रधानमन्त्री ली छ्याङले जहाजभित्र फसेका मानिसलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । उनले उद्धार अभियानका क्रममा थप क्षति हुन नदिन र ‘दोस्रो चरणका विपत्ति’ रोक्न विशेष ध्यान दिन आग्रह गरेका छन्।



