काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । अमेरिकी ह्वाइट हाउसले क्यानडाबाट आयात हुने डेरी उत्पादन, अधिकांश मदिराजन्य पेय पदार्थ र मोटरसाइकलमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
यो प्रतिबन्ध तीन सातापछि लागू हुने बताइएको छ । क्यानडाले मंगलबार करिब २० अर्ब डलर बराबरका अमेरिकी सामान प्रभावित प्रतिरोधात्मक शुल्क लगाएपछि डोनाल्ड ट्रम्पको प्रशासनले यो कदम चालेको हो।
ट्रम्पले क्यानडाका उत्पादनलाई ठुला र दीर्घकालीन अमेरिकी सरकारी ठेक्काबाट बाहिर राख्ने प्रक्रिया पनि अघि बढाएका छन् । क्यानडाले अमेरिकी उत्पादनका लागि पूर्ण र निष्पक्ष पारस्परिक व्यवहार सुनिश्चित नगरेसम्म त्यहाँका उत्पादनलाई त्यस्ता ठेक्काका लागि अयोग्य घोषणा गर्न उनले जनरल सर्भिसेस एडमिनिस्ट्रेसनलाई निर्देशन दिएका छन्।
यसैबिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने प्रयासलाई तीव्र बनाउने बताएका छन् । क्यानडाको रणनीति थप आत्मनिर्भर बन्ने दिशामा केन्द्रित रहेको उनले बताए । कार्नीका अनुसार कुनै पनि देशले क्यानडालाई आफ्नो नियन्त्रणमा राख्न सक्दैन । क्यानडाले आफ्नो इच्छाअनुसार अघि बढ्न सक्ने अवस्था सुनिश्चित गर्नु यसको उद्देश्य भएको उनले बताए।
अमेरिका र क्यानडाबिच लामो समयदेखि व्यापारसम्बन्धी विवाद हुँदै आएको थियो । विशेषगरी क्यानडाको संरक्षित डेरी बजार र सफ्टवुड काठ उत्पादकलाई दिइने अनुदानलाई लिएर दुई देशबिच मतभेद रहँदै आएको थियो । तर, यस्ता विवादका बाबजुद दुवै देश लामो समयदेखि नजिकका मित्र र मजबुत सहयोगी रहँदै आएका थिए।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका–क्यानडा सम्बन्ध झन्झन् बिग्रिदैं गएको छ । क्यानडाली उत्पादनमा शुल्क लगाउनुका साथै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा समेत पटक–पटक विवादास्पद टिप्पणी गर्दै आएका छन्।
क्यानडाका प्रधानमन्त्री कार्नीले भने ट्रम्पको दबाबको सामना गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक रूपमा अप्रत्याशित जित हासिल गरेर गत वर्ष सत्तामा आएका थिए । यसैबिच, केही क्यानडाली प्रान्तले अमेरिकी मदिराजन्य उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । त्यसकै प्रतिक्रियास्वरूप अमेरिकाले मंगलबार क्यानडाली मदिरामा समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो।



