काठमाडौँ । जर्मनीमा कट्टर दक्षिणपन्थी मानिने अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले साक्सोनी–आनहाल्ट राज्यको चुनावमा ठुलो सफलता हासिल गरेको छ।
एग्जिट पोलका अनुसार पार्टीले करिब ४४ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठुलो पार्टी बनेको हो । यो मतपरिणाम जर्मन चान्सलर फ्रेडरिक मर्ज र उनको कन्जरभेटिभ पार्टीका लागि ठुलो धक्का मानिएको छ । दोस्रो विश्वयुद्धपछि एएफडी पहिलो पटक कुनै जर्मन राज्यमा सरकार गठन गर्ने अवस्थामा यति नजिक पुगेको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिएभले एएफडीको जितलाई ऐतिहासिक भनेका छन् । फ्रान्सले भने यो परिणामलाई सम्पूर्ण युरोपका लागि गम्भीर समयको संकेतका रूपमा व्याख्या गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा जर्मनीको चुनावी परिणामको अनुमानित नतिजा देखाउने तस्वीर साझा गरेका छन् । यद्यपि उनले एएफडीको समर्थनमा कुनै टिप्पणी भने गरेनन्।
किन महत्वपूर्ण छ एएफडीको जित ?
नाजी शासनको इतिहासका कारण जर्मनीका मुख्यधारका राजनीतिक दलहरूले लामो समयदेखि अत्यधिक दक्षिणपन्थी मानिने राजनीतिक शक्तिहरूसँग दूरी कायम गर्दै आएका छन् । एएफडीमाथि पनि दक्षिणपन्थी चरमपन्थसँग सम्बन्धित आरोप लाग्दै आएको छ । त्यसैले कुनै राज्यमा सबैभन्दा ठुलो पार्टी बन्नु र सरकार गठनको नजिक पुग्नु जर्मन राजनीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
यसको प्रभाव साक्सोनी–आनहाल्टमा मात्र सीमित छैन । एएफडीले राष्ट्रिय स्तरमा पनि लोकप्रियता हासिल गरिरहेको छ । हालैको आईएनएसए सर्वेक्षणमा एएफडीलाई करिब २८ प्रतिशत समर्थन देखिएको छ भने मर्ज नेतृत्वको सीडीयू/सीएसयूले करिब २० प्रतिशत समर्थन पाएको छ । एएफडीले आफ्नो राजनीतिक अभियानमा आप्रवासन, शरणार्थी र जर्मनीको राष्ट्रिय पहिचानलाई प्रमुख मुद्दा बनाउँदै आएको छ।
धेरै सिट जिते पनि सरकार बनाउन कठिन
चुनावमा सबैभन्दा धेरै सिट जिते पनिसरकार गठन गर्न एएफडीलाई सहज देखिएको छैन । ८३ सदस्यीय राज्य संसदमा बहुमतका लागि ४२ सिट चाहिन्थ्यो । एएफडीले ३९ सिट मात्रै जितेको छ । सरकार गठन गर्न उसलाई कम्तीमा थप तीन सिटको समर्थन चाहिन्छ । तर सीडीयूलगायत अन्य प्रमुख राजनीतिक दलहरूले एएफडीसँग गठबन्धन नगर्ने स्पष्ट गरिसकेका छन् । त्यसैले सबैभन्दा ठुलो पार्टी बने पनि पार्टीका लागि सरकार गठन गर्ने बाटो तत्काल कठिन देखिएको छ।
एएफडीका केही नेतामाथि नाजी नाराको प्रयोग तथा होलोकस्टलाई कम महत्त्व दिने किसिमका अभिव्यक्ति दिएको आरोप लाग्दै आएको छ । दोस्रो विश्वयुद्धका क्रममा एडल्फ हिटलर नेतृत्वको नाजी सरकारले करिब ६० लाख यहूदीको हत्या गरेको थियो । यहूदीहरूको योजनाबद्ध नरसंहारलाई होलोकस्ट भनिन्छ । जर्मनीको गुप्तचर निकायले पनि एएफडीलाई संदिग्ध चरमपन्थी संगठनका रूपमा निगरानी गर्दै आएको छ।
पछिल्लो समय एएफडीले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ। चुनावी अभियानमा उसले आप्रवासन, सुरक्षा र जर्मन राष्ट्रिय पहिचानका मुद्दालाई प्राथमिकताका साथ उठाएको थियो। वर्तमान राजनीतिक दलहरूले यी समस्याको प्रभावकारी समाधान गर्न नसकेका एएफडीका समर्थकहरूको तर्क छ।
बढ्दो महँगी र बेरोजगारीले पनि पार्टीलाई राजनीतिक लाभ पुगेको बताइएको छ । साक्सोनी–आनहाल्टको चुनावी परिणामले जर्मनीमा दक्षिणपन्थी राजनीतिबारे समाजमा रहेको गहिरो मतभेदलाई पनि सतहमा ल्याएको छ । केही समूहले एएफडीको बढ्दो प्रभावलाई लोकतन्त्रका लागि जोखिमका रूपमा हेरेका छन् । सत्ता प्राप्त गरेपछि यस्ता राजनीतिक शक्तिले लोकतान्त्रिक संस्थालाई कमजोर पार्न सक्ने र अल्पसंख्यक समुदायमाथि विभेद बढ्न सक्ने आशंका उनीहरूको छ।



