Oct 28 2026 | २०८३ कार्तिक १२ गते

थप आक्रमण भए कडा जवाफ दिने अमेरिकालाई इरानको चेतावनी

थप आक्रमण भए कडा जवाफ दिने अमेरिकालाई इरानको चेतावनी

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ  । अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको असर कम गर्न आर्थिक सुधार र अन्य उपाय अघि बढाउने इरानले जनाएको छ । इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार देशमाथि थप आक्रमण भए त्यसको जवाफ अझ छिटो, ठूलो र पीडादायी हुने चेतावनी दिएका हुन् अमेरिकाले अब परिस्थितिको नियम परिवर्तन भइसकेको बुझ्नुपर्ने गालिबाफले आइतबार बताए । इरानको हित र सुरक्षामाथि हुने कुनै पनि आक्रमणको जवाफ अब पहिलेभन्दा छिटो, ठूलो र पीडादायी हुने उनको चेतावनी थियो।

    सैन्य कारबाहीसँगै इरानको अर्को ठूलो चुनौती अर्थतन्त्र र जनताको जीविकोपार्जन बनेको पनि गालिबाफल बताएका छन् । उनका अनुसार मुद्रा विनिमय दरमा तीव्र उतारचढाव, महँगी, बेरोजगारी र बजार व्यवस्थापन अहिलेका प्रमुख समस्या हुन् । अहिले एक डलरको भाउ झन्डै २२ लाख इरानी डलरमा पुगेको छ । इरानी जनताले कठिन परिस्थिति सहन सक्ने भए पनि आर्थिक व्यवस्थापनमा कमजोरी र निष्क्रियता स्वीकार गर्न नसक्ने उनले बताए । सरकारले यी समस्या समाधान गर्न छिटो कदम चाल्नुपर्ने उनको भनाइ छ।

    images

    अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको करिब ६ महिनापछि पनि दुई पक्षबीचको द्वन्द्व अन्त्य हुने संकेत देखिएको छैन । जुनमा भएको प्रारम्भिक युद्धविराम सम्झौता कार्यान्वयनमा आउन सकेन। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासमा पनि खासै प्रगति हुन सकेको छैन । अगस्टको अधिकांश समय सैन्य गतिविधिमा केही विराम देखिए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच पुनः आक्रमण–प्रतिआक्रमण सुरु भएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार तीन इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि ती ट्यांकरमाथि आक्रमण गरिएको अमेरिकी पक्षको भनाइ छ।

    होर्मुजमा नयाँ प्रतिबन्धित क्षेत्र बनाउने तयारी

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनमा स्टे«ट अफ होर्मुज नजिक नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्र फारसको खाडीका केही भागसम्म फैलिनेछ । रेजाईले नयाँ क्षेत्रमा प्रवेश गर्ने र होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्य देखिएका जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने बताए । यस योजनाबारे थप विस्तृत जानकारी भने तत्काल सार्वजनिक गरिएको छैन।

    अमेरिकाले इरानको तेल निर्यात रोक्ने र प्रतिबन्ध छल्ने प्रयासलाई नियन्त्रण गर्ने अभियान तीव्र बनाएपछि इरानको अर्थतन्त्रमा दबाब बढेको इरानी अधिकारीहरूले बताएका छन् । इरानका अर्थमन्त्री अली मदानिजादेहले आइतबार अमेरिकी आर्थिक दबाबको सामना गर्न सरकारले सुधारका कार्यक्रम अघि बढाउने बताएका थिए । प्रतिबन्धका कारण इरानले आफ्नो नीति परिवर्तन गर्ने अमेरिकी अपेक्षा गलत भएको उनको भनाइ छ।

    आर्थिक दबाब र एक्ल्याउने प्रयासबाट देशको निर्णय परिवर्तन गर्न नसकिने उनले बताए । इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी अर्थ मन्त्रालयको नभई इरानी सरकार र जनताको भएको उनको भनाइ छ । अर्थ मन्त्रालयका उपमन्त्री मोर्तेजा जमानियानले पनि युद्धका कारण उत्पन्न आर्थिक समस्या समाधान गर्न मन्त्रालयअन्तर्गतको आर्थिक युद्ध मुख्यालयले आफ्नो काम तीव्र बनाएको बताएका छन्।

    खार्ग टापुमा ५५० पटक आक्रमण भएको दाबी

    इरानका तेलमन्त्री मोहसेन पाकनेजादले पछिल्ला महिनामा खार्ग टापुमा करिब ५५० पटक आक्रमण भएको दाबी गरेका छन् । तर, यति धेरै आक्रमण भएपनि टापुमा गतिविधि जारी रहेको उनले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा बताएका छन् । खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो । युद्ध सुरु हुनुअघि इरानले आफ्नो कच्चा तेलको करिब ९० प्रतिशत यही निर्यात केन्द्रबाट बाहिर पठाउँदै आएको थियो । अमेरिकाले अप्रिलको मध्यदेखि इरानी तेल निर्यातमाथि नाकाबन्दी सुरु गरेपछि तेलको आवतजावतमा असर परेको छ।

    अमेरिकी सेन्ट्रल कमान्डले आइतबारसम्म नाकाबन्दी कार्यान्वयनका क्रममा ९२ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गरिएको, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा चढेर जाँच गरिएको जनाएको छ । अगस्ट ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा खार्ग टापु ध्वस्त पारिएको देखाउने कृत्रिम बुद्धिमत्ता प्रयोग गरिएको भिडियोसहित छोटो सन्देश पोस्ट गरेका थिए । खार्गमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी इरानी अधिकारीहरूले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार