Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

ट्रम्पका ज्वाइँ र विटकफले गरे जेलेन्स्कीसँग अर्थपूर्ण वार्ता

ट्रम्पका ज्वाइँ र विटकफले गरे जेलेन्स्कीसँग अर्थपूर्ण वार्ता

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र स्टिभ विटकफले उनको विशेष दूतका रुपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा महत्वपूर्ण वार्ता गरेका छन्।

    आइतबार भएको यो वार्ता सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि अमेरिकी दूतहरूको पहिलो किभ भ्रमणका क्रममा भएको हो । त्यसको एक दिनअघि कुशनर  र विट्कफले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए।

    images

    वार्तापछि छलफल अर्थपूर्ण, महत्वपूर्ण र विस्तृत रहेको विटकफले बताए । आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्देश्य अहिलेको युद्ध अन्त्य गर्ने मात्र नभई दीर्घकालीन र टिकाउ शान्तिका लागि आवश्यक वातावरण र व्यवस्था निर्माण गर्नु रहेको कुशनरले बताएका छन् । मस्को र किभको भ्रमणबाट आफूहरूले धेरै कुरा सिकेको उनले बताए।

    अमेरिकी प्रतिनिधिमण्डलको युक्रेन भ्रमणलाई महत्वपूर्ण कदमका रूपमा लिँदै युद्ध अन्त्य गर्न सकिने सबै प्रयास गर्नुपर्ने जेलेन्स्कीले बताए । अमेरिकी र युरोपेली साझेदारसँग थप सहकार्यको अपेक्षा रहेको पनि उनले उल्लेख गरे । वार्तामा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि सहभागी थिए । जेलेन्स्कीले युरोपेली साझेदारहरू युक्रेनसँग एउटै पक्षमा रहेको बताएका छन् । वार्ताबाट कुनै ठोस नयाँ सहमति वा निर्णय सार्वजनिक भएको छैन।

    अल जजिराका अनुसार वार्ताका क्रममा विशेषगरी क्षेत्रीय सीमासम्बन्धी जटिल मुद्दा युक्रेन र रूसका शीर्ष नेताबीचकै तहमा समाधान गर्नुपर्ने जेलेन्स्कीको पुरानै अडान दोहोरिएको छ । जेलेन्स्कीले युद्ध आगामी जाडोयामसम्म पनि जारी रहने सम्भावना रहेको बताएका छन् । युद्ध लम्बिएमा युरोपेली साझेदारबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उनले बताए । अमेरिकी दूतहरू पोल्यान्डबाट रेलमार्फत किभ पुगेका थिए । विटकफ र कुशनरले यसअघि मस्कोमा पटक–पटक भ्रमण गरे पनि युक्रेनी राजधानीमा भने पहिलोपटक प्रत्यक्ष वार्ता गरेका हुन्।

    रूसको युक्रेनमाथिको साढे चार वर्षभन्दा लामो आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् भने ठूलो मानवीय क्षति भएको छ । यसअघि ट्रम्पको पहलमा अमेरिका मध्यस्थ रहेको रूस–युक्रेन शान्ति वार्ताका विभिन्न चरण भए पनि युद्ध अन्त्य गर्ने दिशामा उल्लेखनीय प्रगति हुन सकेको छैन । ट्रम्पले शुक्रबार अमेरिकासँग नयाँ प्रस्ताव रहेको संकेत गरे पनि त्यसबारे विस्तृत जानकारी दिएका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार