घरबाट साउदी अरब जान हिँडेकी खनियाँबास गाउँपालिका– १ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन् । उनी बेपत्ता बनेपछि परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ । मरिमाया बेपत्ता भएपछि उनकी आमा सान्द्रीमाया र उनका दुई भाइको दैनिकी मरिमायाको सम्झना र उनी फर्केर आउने आशामा बित्ने गरेको छ । ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुईपटक फोनमा कुरा भयो। साउदी गएको १७ वर्ष भयो । न छोरी घर फर्किइन्, न सम्पर्क भयो । मेरो छोरी खोजिदिनुस् न है ...’ यस्तो आग्रह उनले धेरैसँग गरिसकिन् तर उपलब्धी शून्य छ ।
गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेको आमा सान्द्रीमाया बताउँछिन् । ‘२०६३ साल पुसमा छोरी घरबाट निस्केर गइन् । २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदी अरब उडेको भन्ने थाहा पायौँ,’ उनले भनिन्, ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुईपटक फोन गरिन्। साथीले जागिर छाडेर जान लागेको छ भन्थिन्, त्यसपछि छोरीसँग बोली मिसिएको छैन,’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाले भनिन् ।
छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उनी बताउँछिन्। ‘गाउँ, टोल, छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ। तर, छोरीको अझै पत्तै लागेन।’ सान्द्रीमाया आफ्ना दुई भाइको सहारा लिएर छोरीको खोजी गरिरहेकी छिन्। ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन्। छोरी बेपत्ता भएको १७ वर्ष बित्यो, तर उनी फर्किइनन्, न सम्पर्कमा आइन्,’ आँसु पुछ्दै उनले दुःखेसो पोखिन्, ‘मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन् ? त्यही दिनको प्रतीक्षामा छु।’
छोरीलाई विदेश पठाउन त्यति वेला आफूले गाउँकै शेरबहादुर तामाङलाई घरमै लगेर ५० हजार रुपैयाँ दिएको बताउँछिन्। ‘तर, अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भन्दै बहाना गरेर टार्छ। न मेनपावर कम्पनी थाहा, न विदेश पठाइदिएको मान्छे जिउँदो छ। छोरी खोजेरै मेरो जीवन बित्ने भयो,’ उनले भनिन् ।
तर, शेरबहादुर भने आफूले विदेश नपठाएको जिकिर गर्छन्। ‘मैले विदेश पठाउने एकजना रुबीभ्यालीको कान्छीमाया तामाङसँग भेटाइदिएको हो। अरू मलाई थाहा भएन। विदेशचाहिँ गएको हो। केहीपटक मसँग पनि फोनमा कुरा भएको थियो,’ उनले भने। पछि लागुऔषध मुद्दामा आफू ११ वर्ष जेलमा परेकाले आफूलाई अरू कुरा जानकारी नभएको शेरबहादुर बताउँछन्।
‘लागुऔषध मुद्दामा म ११ वर्ष जेल परेँ। मलाई भेट्न आउँदा पनि मैले सान्द्रीमायालाई त्यही दिदीकोमा पठाएको थिएँ । पछि के भयो मलाई थाहा भएन । अहिले त विदेश पठाइदिने त्यो दिदीको पनि दमका कारण मृत्यु भइसक्यो रे । गाउँकै बहिनी हो कसरी खोज्ने हो भन्ने मलाई पनि चिन्ता छ ।’ शेरबहादुरको चिन्तका बिच परिवारको पीडा अथाह छ ।



