काठमाडौँ । पूर्वराष्ट्रपति बसर अल–असदको शासनकालमा पूर्वी सिरियाको देर अज जोरमा आणविक रिएक्टर निर्माण गर्न खोजिएको संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले पुष्टि गरेको छ । आईएईएले मङ्गलवार सार्वजनिक गरेको गोप्य प्रतिवेदनका अनुसार एजेन्सीको टोलीले अगस्टमा सिरियाका विभिन्न स्थानको भ्रमण गरी निरीक्षण तथा प्रमाणीकरणको काम गरेको थियो।
देर अज जोरमा रहेको एक स्थानको निरीक्षणपछि त्यहाँ फेला परेको शीतलीकरण संरचना आणविक रिएक्टरमा प्रयोग हुने संरचनासँग मेल खाने आईएईएले जनाएको छ । उक्त स्थानमा उत्खननको काम अघि बढ्दै गर्दा एजेन्सीले गतिविधिको निगरानी जारी राख्ने जनाएको छ । असद शासनका बेला सिरियाले गोप्य रूपमा व्यापक आणविक कार्यक्रम सञ्चालन गरेको शंका लामो समयदेखि गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत उत्तर कोरियाको सहयोगमा देर अज जोरमा आणविक रिएक्टर बनाएको ठानिएको थियो।
यो आणविक केन्द्र सन् २००७ मा सार्वजनिक जानकारीमा आएको थियो । त्यतिबेला इजरायलले हवाई आक्रमण गरी उक्त संरचना ध्वस्त बनाएको थियो । त्यसपछि सिरियाले उक्त स्थल समतल बनाएको थियो । उसले आईएईएका प्रश्नहरूको पूर्ण रूपमा जवाफ पनि दिएको थिएन । आईएईएले सन् २०२४ मा उक्त स्थानबाट नमुना संकलन गरेको थियो । त्यसको परीक्षणमा युरेनियमका कण भेटिएको एजेन्सीले गत वर्ष जनाएको थियो । नयाँ प्रतिवेदनमा आईएईएले तत्कालीन सिरियाली अधिकारीहरूले आणविक सामग्री, सुविधा तथा गतिविधिबारे एजेन्सीलाई जानकारी नदिएको पनि पुष्टि गरेको छ।
एजेन्सीका अनुसार देर अज जोरमा निर्माणाधीन रिएक्टरबाहेक त्यसका लागि आवश्यक आणविक इन्धन उत्पादन गर्ने कारखाना पनि सिरियाको आणविक कार्यक्रमको हिस्सा थियो । त्यस्तै, आणविक इन्धन, युरेनियमबाट निस्किएको फोहोर तथा अन्य अवशेष भण्डारण गर्ने स्थानसमेत पहिचान गरिएको छ । सन् २०२४ को डिसेम्बरमा असद सत्ताच्युत भएपछि बनेको नयाँ सिरियाली सरकारले शंकास्पद पूर्वआणविक स्थलमा आईएईएका निरीक्षकलाई प्रवेश दिने सहमति गरेको थियो । त्यसपछि एजेन्सीले सिरियामा निरीक्षणलाई तीव्रता दिएको हो । आईएईएका महानिर्देशक राफेल ग्रोसीसहित वरिष्ठ निरीक्षकहरूको टोलीले सिरियाको भ्रमणका क्रममा यसअघि घोषणा नगरिएको अर्को स्थलको समेत निरीक्षण गरेको थियो।



