काठमाडौँ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०८० सालको असार मसान्तसम्म श्रम स्वीकृति लिएर सात लाख ७१ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। तर २०८१ को असार मसान्तसम्ममा यो संख्या सामान्य घटेर सात लाख ४१ हजार पुग्यो । वैदेशिक रोजगार बोर्डले दिएको उक्त तथ्याङ्कअनुसार दैनिक दुई हजारको हाराहारीमा युवाहरू विदेशिइ रहेको छन् ।
यता, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथयाङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को ११ महिनाममा १३ खर्ब २७ अर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । राष्ट्र बैंकको अनुसार यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तसलनामा १९।३ प्रतिशतले बृद्धि भएको हो ।
यो तथ्याङ्क हेर्दा विदेशमा गएका नेपालीहरूले दैनिक ४ अर्ब भन्दा बढी रकम पठाउछन् । तर, रेमिट्यान्सको भित्रि कथा भने त्यति सुखद छैन । एक बर्षको अवधीमा १३ खर्ब २७ अर्ब रेमिट्यान्सको बदलामा १३ सय ४६ जना नेपालीको शव नेपाल भित्रिएको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा दैनिक ३ वटा शव काठको बन्द रातो बाकस विदेशबाट नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेका छन् ।
नेपाली श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मलेसिया लगाएत खाडीका विभिन्न ६ मुलुक (साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान) र दक्षिण कोरिया तथा युरोपका मुलुकहरू देखिन्छ । राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा यी मुलुकहरूबाटै नेपालमा धेरै रेमिटेन्स भित्रिने गरेको देखिन्छ ।
कति आयो रेमिट्यान्स् ?
वैदेशिक रोजगारीमा जाने नेपालीहरूले वार्षिक अर्बौँ रेमिटेन्स पठाउँछन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को ११ महिनाममा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । राष्ट्र बैंकको अनुसार यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १९.३ प्रतिशतले बृद्धि भएको हो ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ११ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ८६ अर्ब रेमिट्यान्स आएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार यसरी एक दशकमा विदेश गएका नेपालीहरूले करिब ९० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएका छन् । तर, वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित हुन नसक्दा रेमिटेन्सको बदलामा नेपालले ठुलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ ।
खाडीमा जोखिम
विभागको अनुसार नेपालले एक सय भन्दा बढी देशहरूमा श्रम रोजगारका निम्ति अनुमति दिएको छ । व्यक्तिगत रूपमा पनि जान सकिने देशहरू गरी करिब १५० देशहरूमा नेपाली आप्रवासीहरूले अनुमति लिएको बताइएको छ ।
तर सबैभन्दा खाडीका छ वटा देशहरू कतार, यूएई, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा जाने गरेका छन् । यस वर्ष सबैभन्दा धेरै यूएईमा गएका छन् । युएईमा सबैभन्दा बढी एक लाख ९३ हजार ४३८ जना गएका छन्। सबैभन्दा कम अल्जेरियालगायत १७ देशमा एक/एकजना मात्र गएका छन् । यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु मृत्यु हुनेमध्ये पनि सबैभन्दा धेरै खाडी मुलुकमा नै रहेको पाइएको छ।
जसमध्ये नेपाली श्रमिक मृत्यु हुनेमा सबैभन्दा बढि साउदी अरेबियामा रहेको बोर्डको तथ्यांकमा उल्लेख छ। साउदी अरेबियामा ३४८ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। यस्तै दोस्रोमा मलेसिया रहेको छ। मलेसियामा ३४५ जना श्रमिकले विभिन्न कारणवस ज्यान गुमाएका छन्।
यस्तै नेपाली श्रमिकको मृत्यु हुने तेस्रो स्थानमा कतार चौथो यूएई र पाँचौँ कुवेत रहेको तथ्यांकमा उल्लेख छ। कतारमा २४०, यूएईमा २३१ र कुवेतमा ६२ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्।
यस्तै द.कोरियामा २८, बहराइन १७, जापान १७, रोमानिया १२, क्रोएशिया ९, ओमान ५, पोल्याण्ड ४, जोर्डन, माल्दिभ्स र मौरिससमा ३/३ जना, साइप्रस, इजराइल, माल्टा, रसिया, ससेस्ज र उज्बेकिस्तानमा २/२ जना, इजिप्ट, हङकङ, काजकिस्तान, मोजाम्बिक, न्यूजिल्याण्ड, वेलायत र अफगानिस्तानमा १/१ जना नेपाली श्रमिकले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।
२०७० को दशकमा मात्र १० हजारको मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० वर्षमा अर्थात २०७०/७१ देखि २०७९/८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा ७ सय ७७ जना श्रमिकले परदेशमा ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८ सय २३ जना, २०७३/७४ मा ७ सय ५८ जना र २०७४/७५ मा ८२३ जनाको मृत्यु भएको छ भने, २०७९/८० मा १ हजार २ सय ८ जनाको मृत्यु भएको छ । विभागले सार्वजनिक गरेको यो तथ्यांकले दैनिक ३ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।
हरेक वर्ष मृत्युवरण गर्नेमा सबैभन्दा बढी खाडी मुलुकतर्फ यूएई, साउदी अरेबिया, कतार, जोर्डन, बहराईन र ओमन छ । त्यस्तै, मलेसियामा पनि ज्यान गुमाउने नेपालीको संख्या उत्तीकै छ । विभागको तथ्याङ्क अनुसार परदेशमा विभिन्न कारणले नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ । यसरी रोजगारकालागि विदेशिएका श्रमिकहरूको संख्या बढेसंगै परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।
मृत्युको कारण के ?
वैदेशिक रोजगारमा गएका १ हजार ३४६ जना नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डले जनाएको छ। जसमध्ये ४४ जना नेपालीले कार्यस्थल दुर्घटनाबाट ज्यान गुमाएका छन्। यस्तै हृदयघात हुँदा १८९ जना नेपाली श्रमिकको ज्यान गएको बोर्डको तथ्यांकमा उल्लेख छ।
सडक दुर्घटनाबाट १३५ जना नेपालीको ज्यान गएको तथ्यांकमा उल्लेख छ। प्राकृतिक मृत्यूबाट २१० जना नेपालीले ज्यान गुमाएका छन्। २८ जना क्यान्सर, ४७ जना विरामी परेर मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ।
यस्तै ६१ जना थाहा नभएको, ३० आत्महत्या, मृगौला रोगले ३ जना, ७ जना हत्या, ७ कोभिड-१९, २८७ रोग, ८७ अन्य कारणले मृत्यु भएको र ५४ जना श्रमिकको के कारण मृत्यु भएको भन्ने बारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ।



