काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ३३ वर्षका सागर उप्रेती र रुपन्देहीको सौराहाफर्साटिकर नगरपालिका वडा नम्बर ६ का ४५ वर्षका कृष्ण कुमार उपाध्याय रहेका छन्।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेका थिए। रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए। अनुसन्धानका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई साउन १५ गते प्रहरीले नियन्त्रणमा लिएको हो।
सागर उप्रेतीले फ्रान्स पठाउने भन्दै एक जना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई टोखा नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको हो । कृष्ण कुमार उपाध्यायले रोमानिया पठाउने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १२ बाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।



