Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भिजिट भिसामा मानव तस्कर, बेचिँदै नेपाली महिला

भिजिट भिसामा मानव तस्कर, बेचिँदै नेपाली महिला

“घरायसी समस्या, गरिबी र आर्थिक भारबाट मुक्ति पाउन महिलाहरु वैदेशिक रोजगारमा जान खोज्छन् र आफू तस्करीमा पर्नका लागि आफैंले पैसा समेत बुझाएका हुन्छन् ।”

आइतवार, आषाढ २३ २०८१
  • नेपालमा भिजिट भिसाको आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइ रहेको छ। विदेशको ठुला सपना देखाएर, विभिन्न प्रलोभनमा पारी दूरदराजका सोझासिधा चेलीहरूलाई तस्करहरूले विभिन्न देशमा पुर्‍याएका छन्। वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुख दिने सपना साँचेर धेरै नेपाली चेलीहरू विदेशिएका हुन्छन् । ती मध्येकी कली बुढा एक हुन् । रोल्पाकी बुढा धेरै पैसा कमाउने आशमा परिवार छाडेर साउदी अरब पुगिन् ।

    करिब ८ महिना अघि राम्रो कमाइ हुने प्रलोभनमा परेर दलालमार्फत् साउदी अरब पुगेकी उनलाई एक स्थानीय नागरिकको घरमा बेचिएको कुरा पत्तै थिएन । घरमा राम्रोसँग काम गर्दा पनि घर मलिकले मानसिक तथा शारीरिक यातना दिएपछि मात्र थाहा भयो, उनी बेचिएकी रहेछिन् । उनलाई अन्जु राना नाम गरेकी एजेन्टले साउदी अरबमा ८ हजार ५ सय साउदी रियाल अर्थात् करिब तीन लाख रूपैयाँमा बेचेकी रहेछिन्।

    images

    ‘घरमा राम्रोसँग काम गर्दा पनि घर मलिकले मानसिक तथा शारीरिक यातना दिन्छ । यहाँ आएदेखि खान पाएको छैन, खाना पनि खान नदिई काम मात्र लगाउँछ, हरेक दिन रातिको २/३ बजेसम्म काम गर्नुपर्छ, शारीरिक तथा मानसिक यातना सहेर बाँचेकी छु, मलाई छिटो उद्धार गर्नुहोस् ।’

    घरायसी समस्या, गरिबी र आर्थिक भारबाट मुक्ति पाउन महिलाहरु वैदेशिक रोजगारमा जान खोज्छन् र आफू तस्करीमा पर्नका लागि आफैंले पैसासमेत बुझाएका हुन्छन् । ऋणको भारीले थिचिंदै गएपछि दैलेखकी (३२ वर्षीया शान्ति श्रेष्ठ (नाम परिवर्तन) विदेशिने सोचमा पुगिन् । लामो समयदेखि श्रीमानको दुबै मिर्गौलाले काम नगर्दा उपचारार्थ लागेको १० लाख ऋण तिर्न विदेशिने सोच बनाइन् । तर उनको सपना पनि अधुरै रह्यो ।

    उनलाई यो सोच बनाउन गाउँकै जेठाजू नाता पर्ने सनी श्रेष्ठले सघाए । भारत ओहोर–दोहोर गरिरहने सनीले शान्तिलाई फ्री भिसा, फ्री टिकटमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने भनेर लोभ्याए । घरेलु कामदारमा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेपछि जेठाजू नाता पर्ने सनीको विश्वासमा विदेश उड्न तयार भइन्, शान्ति ।

    त्यसपछि दिल्ली हुँदै गत वर्षको पुसमा शान्ति कुवेत पुगिन् । केही दिन एउटा कोठामा राखेर शान्तिलाई स्थानीयको घरमा काम गर्न पठाइयो । बिहान ७ बजेदेखि राति २ बजेसम्म गर्दा पनि नसकिने काम थियो घरमा । दैनिक १८ घण्टा काम गर्दा पनि मालिक खुसी हुँदैनथे । केही दिनपछि त स–सानो बहानामा नै कुट्न, पिट्न थाले । सुरुमा भाषा नबुझेर के गरौं, कसो गरौं हुन्थ्यो । एक थोक भनेको मैले अर्कोथोक बुझ्दा कुट्ने, पिट्ने गर्थे’ उनले भनिन्, ‘विस्तारै यातनाले शरीरभरि नीलडाम र घाउ नै घाउ हुन थाल्यो ।’ त्यसपछि नेपालमा फोन गरेर उद्धार गर्न भनें । परिवारको पहलमा गत महिना असार १० मा उनी स्वदेश फर्किइन् ।’ उनी भन्छिन्, ‘त्यो नर्कबाट म बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन । परिवारले मलाई बचाएर फर्कायो, मैले दोस्रो जीवन पाएँ ।’

    तनहुँकी  ३१ वर्षीय रमा मिजार (नाम परिवर्तन) को  कथा पनि त्यस्तै छ। क्यान्सरले श्रीमानको मृत्यु भएपछि सम्पूर्ण परिवारको भारी आफ्नै काँधमा आयो । जेनतेन गर्दागर्दै परिवारको आवश्यक गर्जो समेत टार्न नसक्दा विदेशिने सोच बनाईन् । उनी दलाललाई २ लाख ५० हजार रूपैयाँ बुझाएर गत मंसिरमा भारत हुँदै दुबई उडिन् । 

    अरूलाई जस्तै उनलाई पनि बन्धक बनाएर राखियो । ‘घरमा काम गर्दा दुःख हुँदैन, पैसा पनि राम्रो हुन्छ भनेपछि म जान तयार भएँ’ उनले रूँदै भनिन्, तर मलाई कसरी विदेश जानुपर्छ भन्ने थाहा पनि थिएन । अन्ततः उनलाई दलालले दुबई बेचेको थियो। उनले त्यहाँ स्थानीयका घरमा पाँच महिना काम गरिन् । बाहिर निस्किन नपाइने, घरमा जे–जस्तो व्यवहार भए पनि सहनुपर्ने । अब विस्तारै शारीरिक शोषण हुन थाल्यो । दिन–रातको काम र शारीरिक, मानसिक शोषणपछि रमा विक्षिप्त भइन् ।

    अहिले उनी बेवारिसे अवस्थामा साथीसँगै दुबईमा बस्छिन्। मोटो रकममा बेचिएकी उनीसँग न काम छ, न त हातमा पासपोर्ट नै छ। साहुसँग ऋण काढेर मृतक श्रीमानको सपना पुरा गर्न दुबई पुगेकी रमा घर न धाटको भएकी छिन् । फर्किउँ, साहुसँग लिएको ऋण कसरी तिर्ने रु फेरी हातमा पासपोर्ट पनि त छैन ।

    यसरी विभिन्न व्यक्ति र दलालहरुले आकर्षक तलब सुविधाको प्रलोभन देखाउँदै भिजिट भिसामा खाडीलगायत विभिन्न मुलुकमा कामदार पठाउँदा ठगिने क्रम बढ्दै गएको छ। अझै भन्नु पर्दा नेपालमा भिजिट भिसाको आडमा मानव बेचबिखनको धन्दा पनि उत्तिकै फस्टाइरहेको छ । वैदेशिक रोजगारीको नाममा भिजिट भिसामार्फत नेपाली महिलाहरूलाई खाडी मुलुक लगायत इराक, इजरायल, माल्टामा आकर्षक तलब सुविधाको प्रलोभन देखाउने र ठुलो रकम असूल गरी भाग्ने गरेको गरेको पाइन्छ। मलेसिया, साउदी, कुबेत, इराक, ओमन, बहराइन, यूएई र अफ्रीकाका देशमा घरेलु र डान्स बारमा काम गर्ने कामदारका पुग्ने गरेका छन् ।

    प्रत्येक वर्ष मानव बेचबिखनमा पर्ने मानिसको संख्या बढ्दो छ । राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखन प्रतिवेदन तथ्यांकअनुसार नेपालबाट वार्षिक ३५ हजार मानिस बेचबिखनको शिकार हुँदै आएका छन् । जसमा १२ हजार वैदेशिक रोजगारी, ७ हजार वयस्क मनोरञ्जन र ३ हजार बालश्रमका लागि बेचबिखनमा परेको आयोगको तथ्यांकमा उल्लेख छ ।

    आयोगको प्रतिवेदनमा १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरी धेरै मानव तस्करीको जोखिम रहेको जनाइएको छ । यसरी दलालको भरमा अवैधानिक तवरले श्रम स्वीकृति विना धेरै महिला अहिले पनि खाडी लगायत अन्य मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् ।

     

    विभागले जारी गरेको परामर्शमा के छ ?

    अध्यागमन विभागले विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकका रूपमा विदेश घुम्ने उद्देश्यले जानेहरूका लागि परामर्श जारी गरेको छ। त्यसमा भिजिट भिसामा गएकाहरूले कुनै पनि देशमा पुगेर रोजगारीको अवसर खोज्नु वा त्यसका लागि पहल गर्नु गैरकानुनी हुने विभागले जनाएको छ ।

    पर्यटक भिसामा गएकाहरूले सम्बन्धित देशको नियम अनुसार भिसा अवधिमै स्वदेश फर्कनुपर्ने र त्यसो नगरे कारबाहीमा परिने पनि उक्त परामर्शमा उल्लेख छ । विभागले पर्यटक भिसामा गएकाहरूलाई काममा लगाइदिन्छु भनेर थप रकम असुल गर्नेहरूलाई रकम नबुझाउन र त्यस्ता गतिविधिमा नलाग्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

    त्यस्तै भिजिट भिसामा जानका लागि नक्कली कागजात पेस नगर्न, झूटो विवरण नदिन र एक देशमा जान्छु भनि अर्को देशमा नजान पनि आग्रह गरिएको छ । उक्त परामर्शमा नेपालीहरू भारत र ब्रिटेनबाहेक अन्य कुनै पनि विदेशी मुलुकको सैनिक बन्न नसक्ने भएकाले अन्य मुलुकमा सैनिक बन्ने प्रयोजनका लागि नजान र कसैले प्रलोभन दिए त्यसमा नपर्न पनि सचेत गराइएको छ ।विभागले विद्यार्थी भिसामा जानेहरूले अध्ययनबाहेकका अन्य गतिविधिमा संलग्न नहुनका लागि पनि आग्रह गरेको छ।

    विदेश जाँदा नेपाली विमानस्थलबाटै प्रस्थान गर्न, म्यानपावरहरूलाई सरकारले तोकेको भन्दा बढी रकम नदिन, खाडीका कतिपय देशहरूमा भिजिट भिसामा गएर त्यसलाई कामदार भिसामा परिवर्तन गर्ने उद्देश्यले बिचौलियाहरूलाई रकम नतिर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार