धेरैजसो आप्रवासी श्रमिकले शोषणकारी रोजगार र रोजगार करारसँग सम्बन्धित समस्याका कारण रोजगारदाता एवम् कम्पनी छोड्ने गरेका छन् ।
सम्झौताअनुसार काम र सुविधा उपलब्ध नहुँदा रोजगारदाता वा कम्पनी छोड्ने श्रमिक ५७ प्रतिशत छन् । उनीहरुले सम्झौताभन्दा कम ज्याला र ज्याला चोरीका कारण कम्पनी छोडने गरेको देखिएको छ ।
रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भर्ना प्रक्रियामा समस्या
पिएनसीसीले गुनासो दर्ताको समयमा ७२ दशमलव पाँच प्रतिशत श्रम स्वीकृति नभएको देखिएको उल्लेख गरेको छ ।
कूल ९७ दशमलव ६ प्रतिशतसँग गन्तव्य देशको कागजात अर्थात रोजगार स्वीकृति, भिसा र बसोबास परमिट नभएको पाइएको थियो ।
यस अध्ययनले श्रमिकले अझै पनि अत्यधिक भर्ना शुल्क तिर्दै आइरहेको देखाएको छ । पिएनसीसीमा सन् २०२० र २०२३ का बीच मुद्दा दर्ता गर्ने मलेसिया गएका ५० प्रतिशत नेपाली आप्रवासी श्रमिकले रु एक लाखदेखि दुई लाखसम्म भर्ना शुल्कवापत तिरेको पाइएको छ ।
अध्ययनअनुसार झण्डै ८४ प्रतिशत आप्रवासी श्रमिक मलेसिया आप्रवासनका लागि वैदेशिक रोजगार व्यवसायीमा (म्यानपावर कम्पनी) भरपर्ने गरेको देखाएको छ ।
त्यसका साथै करिब १५ प्रतिशत आप्रवासी श्रमिक व्यक्तिगतरूपमा वा आफन्त वा एजेन्टमार्फत मलेसिया पुगेका छन् ।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको घर फिर्तीमा सहजीकरणका लागि गर्दै आएको प्रयास प्रयाप्त नभएको अध्ययनले देखाएको छ ।
त्यसैले सरकारले अप्ठ्यारामा परेका, काजगपत्र, जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्ययोजनासहित काम गर्न सुझाव दिएको छ ।
नेपाली आप्रवासी श्रमिकको सफ्ट सीपमा अभिवृद्धि र स्वदेश फिर्ता भएका आप्रवासी श्रमिकलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनसमेत प्रतिवेदनले सुझाएको छ ।



