काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को असार दोस्रो हप्तासम्ममा तीन सय भन्दा बढी म्यानपावर कम्पनीले सय जना पनि नेपाली कामदार वैदेशिक रोजगारको लागि पठाउन सकेका छैनन् ।
श्रम विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निल कमल ह्युमन कम्पनी एक्लैले ७ हजार भन्दा बढी कामदार पठाउदा २ सय ७९ म्यानपावर कम्पनीले भने सय जना कामदार पनि पठाउन सकेका छैनन् ।
चालु आर्थिक वर्षको साढे ११ महिनामा ९ सय २२ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाएका छन् ।
प्रतिशतका हिसाबले वार्षिक सय पुर्याउन नपाएका म्यानपावर कम्पनीको हिस्सा ३० दशमलव २७ प्रतिशत छ । त्यसमा ८ वटा म्यानपावर कम्पनीले ९० जना र त्यसभन्दा बढी कामदार पठाएका छन् ।
असार मसान्तसम्ममा यस म्यानपावर कम्पनीहरूले भने नवीकरणका लागि तोकिएको सय संख्या पुर्याउन सक्ने देखिएको छ ।
सय संख्या पुर्याउन नपाएका म्यानपावर कम्पनीमध्ये केही नयाँ र केही वर्षौंदेखि शून्य लागतमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनी रहेका छन् ।
हजार बढी कामदार पठाउने ७७ म्यानपावर
यस अवधीमा ७७ वटा म्यानपावर कम्पनीले भने एक हजारभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।
श्रम विभागका अनुसार यस अवधिमा कुल ८७२ वटा म्यानपावर कम्पनीमध्ये सबैभन्दा बढी निल कमल ह्युमन रिसोर्स प्रा.लि.ले नेपाली कामदार विदेश पठाएको छ ।
श्रम विभागले सार्वजनिक गरेको असार १२ गतेसम्मको तथ्याङ्कअनुसार निल कमल ह्युमन रिसोर्स प्रा।लि।ले यस वर्ष सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त कम्पनीबाट ७ हजार १३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
दोस्रोमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । उक्त कम्पनीबाट ५ हजार ५ सय ५५ जना गएका छन् । यस्तै एयर किंग्स प्लेसमेन्ट प्रा.लि.३ हजार ८३७ जना कामदार बैदेशिक रोजगारीमा पठाएर उक्त अवधिसम्म तेस्रो नम्बरमा परेको छ ।
यस्तै, प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ३ हजार ६०८, दि रिभर ओभरसिज ३ हजार ५९७, साउण्डलाइन्स रिक्रुटमेन्टले ३ हजार ५६०, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले ३ हजार ५५४ र सपोर्ट ह्युमन रिसोर्सले ३ हजार ३३६ जना कामदार बैदेशिक रोजगारीमा पठाएको छ ।
३ लाख ३५ हजार नेपाली विदेशिए
वैदेशिक रोजगार विभागका अनुसार असार १२ गतेसम्म म्यानपावर कम्पनीबाट ३ लाख ३५ हजार ९ सय ९७ जना नेपाली रोजगारीको खोजीमा संस्थागत श्रम स्वीकृति लिएर गएका छन् । जसमा पुरूष कामदारको संख्या २ लाख ९९ हजार ८ सय ३३ र महिला कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ ।



