काठमाडौँ । झापा प्रहरीले हाडनाता करणीपछि जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा शिवसताक्षी नगरपालिका निवासी बाबु–छोरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २ गते शिवसताक्षीको झिलझिलेस्थित एक खाली जमिनमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शिशु हत्या आरोपमा छोरी (परिवर्तित नाम झिलझिले केआई) तथा हाडनाता करणी आरोपमा उनका बुवा (परिवर्तित नाम झिलझिले एल)लाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाका अनुसार युवतीले बच्चा जन्मिएपछि बुवाकै सल्लाहमा शिशुको हत्या गरी गाडेको बयान दिएकी छन्।
प्रहरीका अनुसार छोरी गर्भवती भएको थाहा पाएपछि बुवा कामको सिलसिलामा रोल्पा गएका थिए। बुवा रोल्पामै रहेका बेला छोरीले शिशुलाई जन्म दिएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले रोल्पा प्रहरीको सहयोगमा उनलाई पक्राउ गर्ने प्रयास गरेको भए पनि उनी फरार भएका थिए। पछि रोल्पाबाट भागेर इलाममा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरीले असार ३ गते सूर्योदय नगरपालिका–१० फिकल बजारस्थित मन्त्र होटलबाट उनलाई पक्राउ गरेको हो। सो क्रममा छोरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बुवाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने छोरीलाई काँकडभिट्टास्थित आफन्त नेपालमा राखिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध गत वैशाख १० गते नै हाडनाता करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



