काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा कल्याणपुरका ४३ वर्षीय जगदिश यादव रहेका छन्।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार बुधबार राति करिब ११ बजे गाँजा बिक्री भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको अवस्थामा ९० किलो गाँजा फेला पारेको जनाएको छ।
बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।



