काठमाडौँ । कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ मा काठमाडौँ उपत्यकाका १९५ वटा त्यस्ता कार्यालयमा छापा मारेको थियो । प्रहरीले ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो ।
उनीहरूमध्येका २७ जनालाई कानुन अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सञ्चालकहरू विरुद्ध शिक्षा ऐन अन्तर्गत अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
प्रहरीले अदालतमा उपस्थित गराएपनि कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीका ५ जना म्यानेजरलाई हिरासतमा राख्न अदालतले अनुमति दिएन । सञ्चालक फेला नपरेका ५ जना म्यानेजरलाई अदालतले थुनमा नराख्न भनेको हो ।
शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेका २७ जना कन्सल्टेन्सी सञ्चालकले दर्ता बिना नै कम्पनी सञ्चालन गरेको र विदेशमा विद्यार्थीहरू पठाउने गरेको भेटिएको छ । विदेशमा उनीहरुले पठाएको विद्यार्थीहरू अलपत्र परेको गुनासो आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । उनले भने, ‘जापानमा पनि धेरै मानिसहरू अलपत्र परेको गुनासो आएको छ, हामीले उजुरी मागेका छौँ ।’



