काठमाडौं । आरके मनोरञ्जन समूहले “मिस टुरिजम नेपाल २०२५” प्रतियोगिताको आवेदन (फारम) आधिकारिक रूपमा खुला गरेको छ। विशेषगरी एसईई तथा +२ परीक्षा सम्पन्न गरेका युवतीहरूलाई लक्षित गर्दै आयोजना हुन लागेको यो प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको हो ।
आयोजकका अनुसार, युवतीहरूको सपना साकार पार्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदैछ। प्रतियोगितामार्फत ३ जना मुख्य विजेता चयन गरिनेछन्, जसले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन्। साथै उनीहरूलाई नेपाली म्युजिक भिडियो, फिल्म तथा अन्य मनोरञ्जन क्षेत्रमा काम गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी युवतीहरूलाई विशेष प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिनेछ। जसअन्तर्गत डान्स, क्याटवाक, पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, प्रोफेशनल फोटो तथा भिडियो सुट लगायतका कक्षाहरू दिइनेछ। साथै, नेपालका चर्चित व्यक्तित्वहरूद्वारा प्रशिक्षण तथा मार्गदर्शन गरिने बताइएको छ।
आयोजकका अनुसार, यस प्रतियोगिताले सहभागीहरूलाई केवल सौन्दर्यमा सीमित नराखी आत्मविश्वास, प्रतिभा र करियर निर्माणतर्फ अघि बढाउने लक्ष्य राखेको छ। इच्छुक युवतीहरूले आजै आवेदन दिई आफ्नो प्रतिभा प्रस्तुत गर्न तथा “मिस टुरिजम नेपाल २०२५” को मञ्चमा सहभागी भई भविष्य निर्माणको अवसर लिन आयोजकले आग्रह गरेको छ।



